ओली पक्षले गर्यो लुम्बिनीका पार्टी कमिटि पुनर्गठन : प्रदेश अध्यक्षमा लिला गिरी चयन

1.3K

ओली पक्षले गर्यो लुम्बिनीका पार्टी कमिटि पुनर्गठन : प्रदेश अध्यक्षमा लिला गिरी चयन

प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गरेसंगै विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा विभाजन हुन बाँकी नै छ । औपचारिक रुपमा विभाजित नभएपनि दुबै पक्षले आफ्नो आफ्नो कमिटी पुनर्गठन गर्ने कामलाई भने तिब्रता दिएका छन् ।
ओली पक्षका शंकर पोखरेल ईञ्चार्ज रहेको लुम्बिनी प्रदेशमा नेकपा प्रचण्ड–माधव समुहले पोखरेललाई हटाएर युवराज ज्ञवालीलाई जिम्मेवारी दिईएको थियो । त्यसको लगत्तै प्रचण्ड–माधव समुहकी अध्यक्ष रहेकी ओनसरी घर्तीलाई ओली समुहले हटाएर घर्तीको ठाउँमा लुम्बिनी प्रदेशका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री समेत रहेका लिला गिरीलाई अध्यक्ष बनाएको छ ।
ओली पक्षको बुटवलमा बसेको बैठकले प्रचण्ड–माधव समुहमा खुलेर लागेका पदाधिकारीलाई हटाएर आफ्नो समुहका नेताहरुलाई जिम्मेवारी दिएको हो । ओली समुहले १२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा १० जिल्लाको नेतृत्व हेरफेर गरेको छ ।
ओली पक्षका प्रदेश इञ्चार्ज रहेका मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला दाङ्को जिल्ला अध्यक्ष टिकाराम खड्का, इञ्चार्ज जिवन गौतम र सचिव सुवास पुन सहित पदाधिकारीहरु प्रचण्ड–माधव पक्षमा लागेपछि ओली समुहले संयोजकमा हुकुमबहादुर बस्नेत र सचिवमा मनोहर बुढाथोकीलाई चयन गरेको छ ।
ओली समुहले रुपन्देही जिल्लामा यसअघिकै अध्यक्ष शिवराज सुवेदीलाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ भने सहसंयोजकमा तेजेन्द्र केसी र सचिवमा अनुप बराललाई जिम्मेवारी दिएको हो । बराल पुर्व एमाओवादीबाट प्रदेश सभा सदस्य बनेका दधिराम न्यौपानेसंगै ओली पक्षमा लाग्नु भएको हो । यसअघि सचिवमा एमाओवादीबाट निर्मल जिसी हुनुहुन्थ्यो ।
त्यस्तै नवलपरासी पश्चिममा दिपेन्द्र अधिकारीलाई जिल्ला संयोजक तोकिएको छ । यसअगाडी जिल्ला अध्यक्षमा प्रचण्ड–माधव समुहका भविश्वर तिवारी हुनुहुन्थ्यो । सचिवमा यसअघिकै तुलसी पासी हुनुहुन्छ । त्यस्तै कपिलबस्तुमा यसअघिकै झविलाल पोखरेलाई संयोजक बनाईएको छ भने सहसंयोजकमा डम्बर शर्मा र सचिवमा धर्म भुसाललाई चयन गरिएको छ ।
बाँकेमा प्रदेश सांसद समेत रहेका जिल्ला अध्यक्ष आईपी खरेल र सचिव अशोक काईराला प्रचण्ड–माधव समुहमा लागेपछि ओली समुहले संयोजकमा सूर्य ढकाल, सहसंयोजकमा किस्मत कक्षपती र सचिवमा प्रमोद धिताललाई चयन गरेको छ ।
त्यस्तै बर्दियाका अध्यक्ष भवनकुमार थारु प्रचण्ड–माधव समुहमा लागेपचि ओली समुहले लालबहादुर श्रेष्ठलाई संयोजकको जिम्मेवारी दिईएको छ । पाल्पामा ओली पक्षले जिल्ला संयोजकमा यसअघिकै नारायणप्रसाद आचार्यलाई संयोजक दिएको छ । सचिवमा रहेका राजेन्द्र बिक प्रचण्ड–माधव समुहमा लागेपछि सचिवमा ओमबहदुर घर्तीलाई जिम्मेवारी दिईएको छ ।
गुल्मीमा यसअघिकै मधुकृष्ण पन्तलाई संयोजक बनाइएको छ । सचिव बिरबहादुर कार्की प्रचण्ड–माधव समुहमा लागेपछि ओली समुहले सहसंयोजकमा बालसिंह काउचा र सचिवमा धर्मबहादुर बिकलाई जिम्मेवारी दिएको छ । अर्घाखाँचीमा पनि यस अंघिकै अध्यक्ष प्रदेश सभा सदस्य समेत रहेका चेतनारायण आचार्यलाई संयोजकको जिम्मेवारी दिईएको छ । सचिवमा प्रचण्ड–माधव पक्षका ठाकुर विकलाई हटाएर तेजबहादुर रायमाझीलाई चयन गरिएको छ ।
प्युठानमा यसअघिका अध्यक्ष तुल्सीराम शर्मालाई नै संयोजक बनाईएको छ । रोल्पा र पुर्वी रुकुममा भने ओली पक्षले पुनर्गठन गर्न सकेको छैन । यी दुई जिल्ला प्रचण्ड–माधव पक्षको वर्चश्व देखिएको छ । रोल्पाका अध्यक्ष सुरेन्द्र घर्ती र रुकुम पूर्वका अध्यक्ष मेघबहादुर श्रेष्ठ प्रचण्ड–माधव पक्षका हुन् ।