संसद विघटनको बिरोधमा नेपाली काँग्रेसका भातृ संस्थाहरुले भोली सोमबार देशभर प्रदर्शनको तयारी गरेका छन् । प्रधानमन्त्री केपि ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले संसद विघटनलाई स्वीकृत गरेपछि त्यसको बिरोधमा आन्दोलनरत नेपाली काँग्रेसका १३ वटा भातृ संस्थाले देशका ७७ वटै जिल्लामा प्रदर्शनको तयारी गरेका हुन् ।
नेपाली काँग्रेस केन्द्रीय समितिको निर्णय अनुसार भातृसंस्थाहरुले देशभर बिरोध प्रदर्शनको तयारी गरेको नेपाल बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेलले जानकारी गराउनु भयो । नेपाल बिद्यार्थी संघ लुम्बिनी प्रदेशका संयोजक समेत रहनुभएका पौडेलले प्रधानमन्त्रीको प्रतिगन सच्याउनको लागि प्रदर्शन गर्नुपरेको बताउनु भयो ।
त्यसै जिल्लामा कृयाशिल भातृसंस्थाहरुले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा प्रदर्शनको तयारी गरेको पनि उहाँले बताउनु भयो । नेपाली काँग्रेसका भातृसंस्थाहरु नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल बिद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाती संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल मुस्लिम संघ, नेपाल तामाङ् संघ, नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर संघले संयुक्त अपिल जारी गरि प्रदशर्नमा व्यापक सहभागिताको लागि आह्वान समेत गरेका छन् ।
संसद विघटनको बिरोध गर्दै रुपन्देहीको तिलोत्तमा नगरपालिका मंगलापुरदेखि सुरु हुने विरोध प्रदर्शन भलवारी चोकमा गएर कोणसभा गर्ने तयारी गरिएको छ । कोण सभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य, विघटित प्रतिनीधि सभाका प्रमुख सचेतक तथा पूर्व मन्त्री बालकृष्ण खाँण, काँग्रेस नेता तथा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह, केन्द्रीय सदस्य बद्रि पाण्डे, नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व मन्त्री अब्दुल रज्जाक, नेपाल बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल लगायतले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
