चुनाव होईन, ओलीको प्रधानमन्त्री पद जोगाउन संसद विघटन : काँग्रेस नेता रिजाल

1.3K

चुनाव होईन, ओलीको प्रधानमन्त्री पद जोगाउन संसद विघटन : काँग्रेस नेता रिजाल

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री कपि ओलीले चुनाव गर्नको लागि नभई प्रधानमन्त्री पद बचाउनको लागि संसद विघटन गरेको आरोप लगाउनु भएको छ । उहाँले प्रधानमन्त्री ओली आफ्नो पार्टीको आन्तरिक विवादका कारण पार्टी भित्रैबाट आफू अल्पमतमा परेपछि पद जोगाउनको लागि संसद विघटन गरेको आरोप लगाउँदै घोषित मितिमा चुनाव हुनै नसक्ने ठोकुवा गर्नुभयो ।
रिपोटर्स क्लवले आईतबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री ओलीको उक्त कदमलाई अदालतले सच्याउने पनि विश्वास व्यक्त गर्नुभयो । पत्रकारहरुको जिज्ञासामा उहाँले संसद विघटन गरेलगत्तै नेपाली काँग्रेसले प्रधानमन्त्रीको उक्त कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश कदम भनेर विरोधमा उत्रिएकाले पार्टीमा कुनै अलमल नभएको दावी गर्नुभयो ।
सत्ताशिन दल नेकपामा अन्तिमसम्म पनि सत्ताको मोलमलाई भएको र मोलतोल नमिलेपछि प्रधानमन्त्रीले उक्त कदम चालेको भन्दै संसद विघटनको हिस्सेदार प्रचण्ड र माधवकुमार नेपाल पनि रहेको दावी गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रतिनीधि सभा सदस्यको सपथ नलिँदै प्रधानमन्त्री पद भएको स्मरण गर्दै नेता रिजालले सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धि अध्यादेश पनि असंवैधानिक रहेको र त्यसै अध्यादेशका आधारमा सरकारले गरेको नियुक्ति पनि असंवैधानिक रहेको दावी गर्नुभयो ।
उहाँले अहिलेसम्म नेकपा औपचारिक रुपमा विभाजन नभईसकेकाले नेपाली काँग्रेसले अर्को पार्टीका नेतालाई तँ ठिक तँ बेठिक भन्न नमिले उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकारमा नेकपाबाटै अविश्वासको प्रस्ताव दर्ता भएकाले प्रमुख प्रतिपक्षि दलको हैसियतले नेपाली काँग्रेसले अविश्वासकै पक्षमा मतदान गर्नुपर्ने आफ्नो विचार रहेको बताउनु भयो । यद्यपी नेपाली काँग्रेसले यस विषयमा औपचारिक निर्णय लिएको छैन ।
नेपाली काँग्रेको १४ औं महाधिवेशनको मिति घर्किनै लागेका बेला उहाँले फागुन पछिको ६ महिना भित्रै महाधिवेशन हुने दावी गर्नुभयो । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको निर्धारित मिति यहि फागुनमा सकिँदैछ । फागुन पछि ६ महिना भित्र महाधिवेशन हुन सकेनभने पार्टीको बैद्यता समेत समाप्त हुने भएकाले फागुनपछि ६ महिना भित्रै महाधिवेशन हुने बताउनु भएको हो ।