ससस्त्र द्वन्द्वलाई ऐतिहासिक परिघटनाको रुपमा लिएका छौं : मुख्यमन्त्री पोखरेल

1.3K

ससस्त्र द्वन्द्वलाई ऐतिहासिक परिघटनाको रुपमा लिएका छौं : मुख्यमन्त्री पोखरेल

फागुन १ गते बुटवलमा जनसभाको तयारी गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका लुम्बिनी प्रदेश इञ्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले संसद विघटनले विवाद उत्पन्न भएको नभई विवादले संसद विघटन भएको दावी गर्नुभएको छ ।
जनसभाको तयारीका बारेमा जानकारी गराउन बिहिबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै स्थायी कमिटिका सदस्य समेत रहेका मुख्यमन्त्री पोखरेलले भन्नुभयो–‘अहिले संसद विघटन पछि विवाद उत्पन्न भएको जस्तो प्रचार गरिएको, संसद विघटनले विवाद भएको होईन, विवादले संसद विघटन भएको हो ।’
प्रधानमन्त्रीलाई निरिह बनाउने खेल पार्टी भित्रैबाट भएपछि प्रधानमन्त्री केपी ओली सामु संसद विघटन गर्नुपर्ने बाध्यात्मक परिस्थिती निर्माण भएको समेत उहाँले दावी गर्नुभयो । संसद विघटन पछि विभाजित भएको नेकपाको ओली समुह र प्रचण्ड–नेपालको समुहले छुट्टा छुट्टै प्रदर्शन गर्दै आएका छन् ।
सोही अनुसार फागुन १ गते नेकपा ओली समुहले बुटवलको सिद्देश्वरी माध्यमिक बिद्यालयको खेल मैदानमा शक्ति प्रदर्शनको तयारी गरेको छ । उक्त जनसभामा २ लाख कार्यकर्ता उतार्ने गरी तयारी भएको मुख्यमन्त्री पोखरेलले बताउनु भयो । ‘जतिबेला राष्ट्रमा संकट पर्छ, त्यतिबेला बुटवलमा देखापर्ने जनमतले निर्णायक भुमिका खेलेको छ ।’ उहाँले भन्नुभयो–‘मुलुकमा अहिले असाधारण अवस्था सिर्जना भएको छ, केपी ओलीकै नेतृत्वमा मुलुक सुरक्षित रुपमा अगाडी बढ्छ भन्ने सन्देश दिईने छ र त्यसले अन्यौल पनि चिर्नेछ ।’
उक्त जनसभा यथार्थमै ऐतिहासिक हुने दावी गर्दै उहाँले विवाद समाधानका लागि जनतालाई न्याधिश बनाउन खोजिएको बताउनु भयो । प्रधानमन्त्रीलाई निरिह बनाउने काम राष्ट्र र जनता बिरोधी हो भन्ने कुरालाई स्थापित गर्न खोजिएको र पुष्पकमल दाहाल, माधवकुमार नेपालतिर संकेत गर्दै उहाँले प्रतिनीधि सभा (संसद) विघटनलाई जसले वेठिक ठानेको छ, त्यसलाई जनताको माध्यमबाट सन्देश दिन खोजिएको बताउनु भयो । उहाँले सरकारलाई घेराबन्दी गर्ने र काम गर्न नदिने काम भएपछि के गर्ने भन्ने प्रश्न गर्दै आफूहरुको आन्दोलन र प्रदर्शन नभई जनमत बटुल्ने अभियान रहेको दावी गर्नुभयो ।
फागुन १ गते हुने जनसभामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट २ लाख कार्यकर्ता उतार्ने तयारी उक्त समुहले गरेको छ । सिद्देश्वरी माबिको खेल मैदानमा दिउँसो १ बजे हुने सभामा अस्पताल लाईनबाट प्रदर्शन गरिने र चौराहा हुँदै सभा स्थलमा पुगिने पनि उहाँले जानकारी गराउनु भयो । फागुन १ गते जनआन्दोलन दिवस पनि भएकाले उक्त सभालाई ऐतिहासिक बनाउने गरि तयारी गरिएको बताउँदै त्यस दिन बिहान पूर्व जनमुक्ति सेनाको भेला समेत आयोजना गरिएको र उक्त भेलालाई संघीय सरकारका मन्त्री लेखराज भट्ट र आफूले समेत सम्बोधन गर्ने तयारी गरिएको जानकारी गराउनु भयो । ‘जनआन्दोलनलाई ऐतिहासिक परिघटनाको रुपमा लिएका छौं ।’ उहाँले भन्नुभयो–‘तत्कालिन एमालेको जनताको बहुदलीय जनवाद र तत्कालिन एमाओवादीको ससस्त्र जनआन्दोलनको बलबाट नै परिवर्तन सम्भव भएको हो ।’ तर प्रचण्डले जनआन्दोलनलाई त्यो रुपमा नबुझेको तथा जनआन्दोलन र त्यसका सहयात्रीहरुलाई भुलेको आरोप लगाउनु भयो ।
दिउसो हुने सभालाई भने पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।