सरकारसंग होटल व्यबसायीको माग : होटललाई उद्योगको मान्यता देउ

1.3K

सरकारसंग होटल व्यबसायीको माग : होटललाई उद्योगको मान्यता देउ

होटल तथा पर्यटन व्यवसायलाई उद्योगको रुपमा मान्यता दिन होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुले सरकारसंग आग्रह गरेका छन् । उनीहरुले अन्य क्षेत्रका उद्योगलाई जस्तै होटल तथा पर्यटन क्षेत्रलाई पनि उद्योगको रुपमा मान्याता दिनुपर्ने माग गरेका हुन् ।
पर्यटन व्यवसायीका माग सम्बोधन गर्ने विषयमा सरकारले कूनै चासो नदिएको उनीहरुको गुनासो छ । होटल तथा रेष्टुरेण्ट व्यवसाय संघ रुपन्देहीको २० औं साधारण सभा तथा १० औं अधिवेशन उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले पर्यटन व्यवसाय प्रति तीनै तहका सरकार गम्भीर नदेखिएको आरोप लगाए । पर्यटन व्यवसायको संरक्षण र सम्बद्र्वनका लागि तीनै तहका सरकारले स्पष्ट पर्यतन नीति बनाउन व्यवसायीहरुको माग छ ।
आर्थिक सम्वृद्विको मेरुदण्डको रुपमा रहेको पर्यटन व्यवसाय कोराना भाइरसका कारण थला परेको र व्यवसायीले बैंक तथा वित्तिय संस्थाहरुको व्याज र घरभाडा तिर्न नसक्दा कैयौ व्यवसायी विस्थापित हुनुपरेको बताए । पर्यटन व्यवसायीले सरकारले दिएको पुनरकर्जा र डिमाण्ड चार्जको सेवाबाट बन्चित हुंदा पनि आधिकारिक निकायमहरु मौन रहेको बताए ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य सांसद भोजप्रसाद श्रेष्ठले सरकार विकास र न्यायको पक्षमा रहेको बताउनुभयो । पर्यटनदेखि हरेक क्षेत्रको विकास र विस्तारमा राज्य र जनता जागरुक हुनुपर्ने बताउनु भयो । पर्यटन व्यवसायलाई उद्योगको रुपमा मान्याता दिने विषयमा पहल गर्ने प्रतिवद्वता जनाउदै कृषि, पर्यटन र उद्योगको विकास अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
उहाँले रुपन्देहीका हरेक संघसंस्थाहरु अब्बल रहेको उल्लेख गर्दै रुपन्देहीको पर्यटन क्षेत्रको उचित व्यवस्थान गर्नुपर्नेमा जोड दिनुभयो । होटल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष हिराध्वज शाहाले होटल तथा पर्यटन व्यवसाय फस्टाएमा देश आर्थिक रुपले सम्वृद्वि बन्ने बताउनु भयो । पर्यटन व्यवसायमा नीजि क्षेत्रको ठूलो लगानी लागेकाले लगानीको संरक्षण र व्यवसायमैत्री वातावरण बनाउने दायित्व सरकारको भएको बताउँदै उहाँले पर्यटन व्यवसायलाई उद्योगको रुपमा मान्यता दिन र त्यही अनुसारको सेवा सुविधा उपलब्ध गराउन माग गर्नुभयो ।
पर्यटन व्यवसायमा वार्षिक २ खर्व ८४ अर्व लगानी भएको र ३ खर्व ६७ अर्वको वार्षिक कोरावार हुने गरेको जानकारी गराउनुभयो । कार्यक्रममा होटल व्यवसायी महासंघका संस्थापक सचिव माधव नेपाल, हानका केन्द्रिय सदस्य गोपाल राना, होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले, वरिष्ठ उपाध्यक्ष महेन्दप्रसाद्र श्रेष्ठ, संघका निवर्तमान अध्यक्ष मोदनाथ बेल्वासे, बांके होटल व्यवसायी संघका अध्यक्ष भीमलाल कंडेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बुटवल नगर अध्यक्ष बाबुराम पन्थी, नेपाली कांगे्रसका बुटवल नगर अध्यक्ष खेलराज पाण्डे, पत्रकार महासंघ रुपन्देही अध्यक्ष यानेन्द्र जीसी, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिमबहादुर हमाल, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनी, उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठक, मणिमुकुन्द उद्यान पार्कका अध्यक्ष खेम लुइटेल लगायतले बोल्नु भएको थियो ।

संघका अध्यक्ष समुन्द्र जीसीको अध्क्षता, वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठको स्वागत र महासचिव माधवकुमार खनालको सञ्चालनमा कार्यक्रम भएको थियो । साधाारण सभा तथा अधिवेशनको अवसरमा पर्यटन पत्रकारिता पुरस्कारबाट टिकाराम घिमिरे, उत्कृष्ट व्यवसायी लाइमनलेमन क्याफेलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । त्यस्तै संघका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ ।