सिद्धार्थ हस्पिटालिटी विजनेश ग्रुपले सञ्चालन गरेको बुटवलको सिद्धार्थ कटेजले बुटवल उद्योग बाणिज्य संघ रुपन्देही र होटल तथा रेष्टुरेन्ट व्यबसायी संघ रुपन्देहीको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गरेको छ ।
शनिबार मिलनचोक स्थित आफ्नै होटल सिद्धार्थ कटेजमा एक कार्यक्रमको आयोजना गरि दुबै संस्थामा नवनिर्वाचित कार्यसमितिलाई बधाई सहित शुभकामना प्रदान गरेको हो । त्यस अवसरमा बुटवल उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष उज्ज्वलप्रसाद कसजुले उद्योगी व्यबसायीहरुको हकहित सहित यस क्षेत्रको आर्थिक तथा सामाजिक बिकासमा संघले लगानी सहितको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको स्मरण गर्दै सूचना प्रविधिको बिकाससंगै अब स्मार्ट बुटवलको बिकासको लागि सबैले मिसन बनाउनु पर्ने भनाई राख्नुभयो । उहाँले विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ को कारण उद्योग व्यबसायसंगै पर्यटन उद्योगलाई बढी प्रभावित पारेको भन्दै यसलाई उठाउनको लागि सरकारले बिशेष कार्यक्रम ल्याउनु पर्ने भनाई राख्नुभयो । उहाँले अब ९ बजेसम्म मात्रै नभएर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार रात्रीकालिन व्यबसाय सञ्चालनको लागि समेत सरकारले वातावरण बनाउनु पर्ने भनाई राख्नुभयो ।

त्यस्तै होटल तथा रेष्टुरेन्ट व्यबसायी संघ रुपन्देहीका नवनिर्वाचित अध्यक्ष रामप्रसाद गौतमले बुटवल पूर्वपश्चिम र उत्तर दक्षिणको संगम भएको र बिकासको क्रम पनि बढ्दै गएकोले होटल तथा रेष्टुरेन्ट व्यबसायको पनि शैली रुपान्तरण गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले सरकारले ८÷९ बजेपछि प्रहरी लगाएर होटल व्यबसाय बन्द गराउने गरेको बताउँदै रात्रीकालिन व्यबसाय सञ्चालनको वातावरण बनाईदिन सरकारसंग आग्रह गर्नुभयो ।
त्यस अवसरमा सिद्धार्थ हस्पिटालिटी विजनेश ग्रुपका क्षेत्रीय प्रवन्धक महेन्द्र न्यौपानेले २०५६ सालमा टिकापुरबाट सुरु गरेको सिद्धार्थका शाखा अहिले देशभरी रहेको जानकारी गराउँदै वेलाबेलामा विभिन्न प्रकारका अवरोधहरु सिर्जना हुँदै आएको बताउनु भयो । उहाँले भारतले गरेको नाकाबन्दी, भूकम्प, कोभिड–१९ ले व्यबसायीलाई धेरै समस्या गराएको भन्दै मुलुकको अर्थतन्त्रको पिल्लरको रुपमा रहेका उद्योगी व्यबसायीको समस्या समाधानमा सरकार गम्भिर बन्नुपर्ने बताउनु भयो । त्यस्तै व्यबसायका ढोका बन्द गरेर हुने सुरक्षा भरपर्दो नहुने बताउँदै पर्यटन व्यबसायमा अन्तर्राष्ट्रिय मापदण्ड कार्यान्वयन गर्न सरकारसंग आग्रह गर्नुभयो ।
सिद्धार्थ होटेल बुटवलका शाखा प्रवन्धक पुरुषोत्तम आचार्यको स्वागतमा भएको बधाई तथा शुभकामना कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघ र होटल तथा रेष्टुरेन्ट व्यबसायी संघ रुपन्देहीका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।