नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समुहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । आफूहरु निकटका केन्द्रीय सदस्य तथा संघीय संसदका सदस्यहरुको शनिबार बसेको बैठकले आगामी चैतको ४ र ५ गतेलाई राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो ।
एमाले अध्यक्ष केपी ओलीले विधान विपरित माओवादी केन्द्रका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको तथा बालुवाटारमा गरेको बैठकको बारेमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई जानकारी नगराउनु र उक्त बैठकमा बहुमत सदस्य पनि नभएकोले अवैध भएको झलनाथ–माधव समुहको दावी छ ।
राष्ट्रिय कार्यकर्ता भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्यहरु, संघ र प्रदेशका सांसदहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, स्थानीय तहका निर्वाचित प्रमुख र उपप्रमुख तथा पार्टी कमिटीका पदाधिकारीहरुलाई बोलाईएको छ । त्यस्तै जनवर्गीय संगठन, पेशागत संगठनका केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, जिल्लाका अध्यक्ष, केन्द्रीय विभागका सदस्यहरुलाई समेत राष्ट्रिय भेलामा बोलाईएको छ ।
झलनाथ–माधव समुहले भेलाको लागि प्रदेश ईञ्चार्ज समेत तोकेको छ । बैठकले प्रदेश १ को ईञ्चार्जमा भिम आचार्य, २ मा घनश्याम भुसाल, बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीमा युवराज ज्ञवाली, सुदुरपश्चिम प्रदेशमा भिम रावललाई ईञ्चार्जको जिम्मेवारी दिएको हो । त्यस्तैगरी रघुजी पन्तलाई युवा, गोकर्ण विष्टलाई बिद्यार्थी, प्रमेश हमाललाई बुद्धिजिवी र योगेश भट्टराईलाई प्रचार विभागको जिम्मेवारी दिईएको छ । बैठकले पार्टी अध्यक्ष ओलीले एकलौटी गरेका निर्णयहरु अस्विकार गर्ने समेत निर्णय गरेको छ ।