स्थानीय स्रोतसाधनमा आधारित उद्योगलाई प्यूठान उद्योग बाणिज्य संघको सम्मान

1.3K

स्थानीय स्रोतसाधनमा आधारित उद्योगलाई प्यूठान उद्योग बाणिज्य संघको सम्मान

प्युठान उद्योग बाणिज्य संघ प्युठानले जिल्ला भित्रको आन्तरिक स्रोत साधन प्रयोग गरेर ह्युमपाइप उत्पादन गर्ने उद्योगका सञ्चालकलाई सम्मान गरेको छ । संघले जिल्लाको माण्डवी गाउंपालिका वडा नं. १ जसपुरमा सञ्चालनमा रहेको पिडि मल्टीप्रपोज प्रा.लि.का सञ्चालक पुर्णप्रसाद कालाखेतीलाई सम्मान गरेको हो ।
संघको शनिबार जुम्रीमा सम्पन्न २३ औ साधारण सभामा उहालाई सम्मान गरिएको हो । त्यसै अवसरमा जिल्ला भित्रका प्यूठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकाका प्रमुखहरुलाई पनि सम्मान गरिएको थियो । उहाहरुलाई संघले अगाडि सारेका कार्यक्रममा सहकार्य गरेको भन्दै सम्मान गरेको हो । त्यसैगरी संघका कार्यकारी निर्देशक प्रकाश खनाललाई समेत सम्मान गरिएको छ । उहाँलाई एक महिनाको पारिश्रमिक बराबरको नगद पुरस्कार सहित कदर पत्रले सम्मान गरिएको हो ।
उहाँहरुलाई नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद शर्मा र संघका अध्यक्ष केदारमान कक्षपतीले कदरपत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।
त्यसैगरी बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीसंगको भगिनी सम्बन्धलाई थप सुदृढ गर्ने दुबै संघका अध्यक्षहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । प्यूठान उद्योग बाणिज्य संघका अध्यक्ष कक्षपतिले बुटवल उद्योग बाणिज्य संघसंगको भगिनी सम्बन्धलाई थप सुदृढ गर्ने र आपसी सम्बन्धलाई थप मजबुद हुनेगरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजुले प्यूठान उद्योग बाणिज्य संघ र बुटवल उद्योग बाणिज्य संघ बिच भगिनी सम्बन्ध स्थापित भएदेखि आपसमा सहयोग र सहकार्य हुँदै आएको बताउँदै यसलाई थप मजबुद बनाउनको लागि तत्काल बुटवल उद्योग बाणिज्य संघले कर्मचारीलाई प्रदान गर्ने तालिममा प्यूठानका कर्मचारीलाई पनि सहभागि गराउन आग्रह गर्नुभयो । त्यस्तै थप अन्य कार्यक्रमहरुमा समेत सहकार्यको हुने आशा र विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका सदस्यहरु किशोर आचार्य, जम्शेरअली मिया, सिद्धार्थनगर उद्योग बाणिज्य संघ भैरहवाका अध्यक्ष कुलप्रसाद न्यौपाने लगायतका उद्योगी व्यबसायीहरुले मुलुकको अर्थतन्त्रको बिकासमा निजी क्षेत्रका उल्लेखनीय योगदान रहेको बताउँदै अर्थतन्त्र सुदृढीकरणको लागि सरकारले लगानीको वातावरण बनाउनु पर्ने भनाई राख्नुभएको थियो ।
त्यस्तै स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकाले सरकारले लिएको तीनखम्बे अर्थनीति अनुसार सरकार, निजी क्षेत्र र सहकारी मिलेर काम गर्नुपर्ने बताउँदै आफ्नो नगरपालिकाले काम सुरु गरिसकेको जानकारी गराउनु भएको थियो । त्यस अवसरमा जिल्लामा कृयाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनीधिहरु संघसंस्थाका प्रमुखहरुले आर्थिक तता सामाजिक बिकासमा निजी क्षेत्रको तर्फबाट उद्योग बाणिज्य संघले खेलेको भूमिकाको चर्चा गरेका थिए ।