समाजसेवी भट्टराईको जन्मदिन : मानव सेवा आश्रममा खाना सहयोग

1.3K

समाजसेवी भट्टराईको जन्मदिन : मानव सेवा आश्रममा खाना सहयोग

समाजसेवी बिमलराज भट्टराईले मानव सेवा आश्रम बुटवलमा आश्रित सडक मानवहरुलाई एक छाकको खाना खुवाउनु भएको छ । नेपाली काँग्रेस बुटवल नगर समितिका उपसभापति तथा बुटवल उद्योग बाणिज्य संघका महासचिव लगायत बिभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिकामा रहनुभएका समाजसेवी भट्टराईले आफ्नो जन्मदिनको बिशेष अवसरमा उनीहरुलाई एक छाक खाना खुवाउनु भएको हो ।
मावन सेवा आश्रममा हाल १५७ जना सडक मानव (लक्ष्मीनारायण तथा बालगोपाल) रहेको आश्रमका संरक्षक तथा भवन निर्माण समितिका संयोजक लोकनाथ भूसालले जानकारी गराउनु भयो । उहाँले २०७८ साल भित्रमा नेपाललाई सडक मानव मुक्त राष्ट्र घोषणा गर्ने योजना सहित काम अगाडि बढाईएको र बिभिन्न कारणले सडकमा आएका मानवलाई उद्धारको लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाको पश्चिमपहुनीमा रहेको माक्षधाम सेवा आश्रममा ५ कठ्डा क्षेत्रफल जग्गामा भवन निर्माणको काम भईरहेको जानकारी समेत गराउनु भयो ।

उक्त जग्गा मोक्षधाम सेवा आश्रमले उपलब्ध गराएको हो । हाल बुटवलको सुख्खानगरमा दुई वटा भवनमा मानव सेवा आश्रम सञ्चालन गरिएको छ । त्यसमध्ये एउटामा महिला र अर्कोमा पुरुषलाई व्यबस्थापन गरिएको छ । हालसम्म आश्रममा आएका मध्ये १४८ जनालाई पारिवारिक पुनःमिलन समेत गराईसकिएको उहाँले जानकारी गराउनु भयो । त्यस अवसरमा बोल्दै समाजसेवी भट्टराईले भवन निर्माणमा पनि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
शुभकामना व्यक्त गर्दै नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोबिन्द खनाल, महिला नेतृ बालकुमारी भण्डारी लगायतले मानवता प्रवद्र्धनको अभियानमा सबैको सहयोग हुनुपर्ने भनाई राख्नुभएको थियो ।