लुम्बिनी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार बिकास मन्त्री सन्तोष पाण्डेलाई आफ्नै पार्टीका कार्यकर्ताले बिरोध गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध अविश्वास प्रस्ताव पेस गर्ने तयारी गरिरहेका बेला झुक्याएर मन्त्री बनेको भन्दै आफ्नै पार्टीका कार्यकर्ताले बिरोध गरेका हुन् ।
रुपन्देहीको मर्चवारमा एक कार्यक्रममा जाने क्रममा मन्त्री पाण्डेलाई मर्यादपूर, मझगावा र गोनहिया लगायतका स्थानमा जनता समाजवादी पार्टीकै नेता कार्यकर्ताले सडकमा टायर बालेर तथा कालो झण्डा देखाएर विरोध गरेका हुन् । जसपा रुपन्देहीका अध्यक्ष रामअवतार यादव, पुर्व सांसद ओमप्रकाश यादव, केन्द्रीय परिषद सदस्य रुपा मल्ल, केन्द्रीय सदस्य उमाशंकर यादव, रेनु सिंह, चन्द्रभूषण यादव, अमरजित यादव, सुनिल जैसवाल लगायतका नेता कार्यकर्ताले मन्त्री पाण्डेलाई पदलोलुप, व्यक्तिवादी, अनैतिक र धोकेबाज भन्दै चर्का नाराबाजी गरेका थिए ।
उनीहरुले मन्त्रीको बाटो छेक्ने प्रयास गरेपनि प्रहरीले बल प्रयोग गरेर मन्त्रीलाई गन्तव्यतर्फ पु¥याएको थियो । पार्टी निर्णय, संसदीय दलको निर्णय तथा ह्वीप उल्लंघन गर्दै पार्टीलाई झुक्काएर पाण्डे मन्त्री बनेकाले त्यसको विरोध गरिएको र सार्वजनिक कार्यक्रम वहिस्कार गरिने जसपा रुपन्देही अध्यक्ष रामअवतार यादवले बताउनु भयो । ‘सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै पार्टीलाई झुक्याएर अराजनीतिक र अनैतिक हिसाबले मन्त्री बन्न पुगेकाले विरोधमा उत्रिनुपरेको हो’–अध्यक्ष यादवले भन्नुभयो–‘पार्टीलाई धोका दिने गद्दारलाई अब कार्यकर्ताले छाड्नेवाला छैनन् ।’