लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल बिरुद्ध फेरी अविश्वासको प्रस्ताव दर्ता

1.3K

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल बिरुद्ध फेरी अविश्वासको प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध फेरी अविश्वासको प्रस्ताव दर्ता भएको छ । यस अगाडि अविश्वासको प्रस्ताव छल्नकै लागि प्रदेश सभामा पेस हुने दिन त्यस अगावै पदबाट राजीनामा दिएका मुख्यमन्त्री पोखरेलका बिरुद्ध फेरी पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरुले अविश्वासका प्रस्ताव दर्ता गरेका हुन् ।
नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिएको हो ।
यसअघि ६ वैशाखमा पनि मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । उनीहरुले दिएको समावेदनका आधारमा १९ वैशाखमा प्रदशेसभाको विशेष अधिवेशन बोलाइएको थियो । तर अधिवेशन सुरु हुनु अघि नै पोखरेलले पदबाट राजीनामा दिएर एकल बहुमतको सरकारको दाबी गर्नुभएको थियो ।
अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुले आफूहरुको पक्षमा बहुमत भएको दाबी गरेपनि प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गर्नुको साथै सांसदहरुको बिरोधका बावजुद मुख्यमन्त्री कार्यालयमै पुगेर सपथ समेत गराउनु भएको थियो ।
अविश्वासको प्रस्तावमा छलफल हुन नपाई प्रदेशसभामा यथावत रहेको र नेकपा एमालेका दृगनारायण पाण्डेय र अमरबहादुर डाँगीको राजीनामा तथा माओवादी केन्द्र रोज्ने बिमला खत्रीको निर्णयपछि प्रदेशसभामा कायम ७९ सदस्यको बहुमत (३८ सांसद) एमालेसँग नभएको भन्दै चार दलले संविधानको धारा १६८ (१) बमोजिम एकल बहुमतको प्रदेश सरकार बन्न नसक्ने बताएका छन् ।
आफूहरुको पक्षमा बहुमत रहेको भन्दै माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउनुपर्ने दाबी बैधानिक भएको बताएका चार दलले प्रदेश प्रमुखले दलहरुसँग परामर्श नगरी संविधान विपरित पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै प्रदेशसभामा फेरि अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।