निषेधाज्ञाको अवज्ञा गरि होटल सञ्चालन गर्ने व्यबसायीलाई कारवाही

1.3K

निषेधाज्ञाको अवज्ञा गरि होटल सञ्चालन गर्ने व्यबसायीलाई कारवाही

निषेधाज्ञाको अवज्ञा गरेका बुटवलका तीन जना होटल व्यबसायीलाई कारवाही गरिएको छ । कोरोना भाईरस संक्रमण रोकथाम तथा व्यबस्थापनको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले गएको बैशाख १६ गतेदेखि रुपन्देही जिल्लामा निषेधाज्ञा गरेको थियो ।
निषेधाज्ञाको समयमा होटल सञ्चालन गरि अनावश्यक भिडभाड गराएको र निषेधाज्ञाको उल्लङ्घन गरेको भन्दै बुटवल उपमहानगरपालिका वडा नं. ९ मिलनचोकमा रहेको सेराज रेष्टुरेन्टका सञ्चालकहरु गुल्मीको रेसुङ्गा नगरपालिका ८ घर भई हाल बुटवल ४ बस्ने ४४ वर्षी शेरबहादुर भण्डारी, स्याङ्जा चापकोट नगरपालिका १० घर भई बुटवल ११ बस्ने ४० वर्षीय होटल सञ्चालक शम्भु भट्टराई र होटलका बारटेण्डर बुटवल ११ निवासी २० वर्षीय रुकुम मगरलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले जानकारी गराउनु भयो ।
उनीहरुलाई वडा प्रहरी कार्यालय बुटवलको टोलीले गत आईतबार नियन्त्रणमा लिएको थियो । पक्राउ परेका उनीहरुलाई संक्रामक रोग ऐन २०२० को दफा ३ बमोजिम आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालयमा पठाएको र एक महिना कैद वा सोही बराबरको जरिवाना अनुसार जनही ९ हजार १ सय रुपैंयाका दरले जरिवाना गरेर छाडिएको प्रवक्ता थापाले बताउनु भयो ।