जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मंगलबार (१५ असार) देखि लागुहुनेगरी निजी तथा सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरेको छ । प्रशासनले निषेधाज्ञालाई यथावत राख्दै निजी तथा सार्वजनिक सवारी साधान सञ्चालनमा जोर बिजोर प्रणालीको निर्णले केही राहत महसुस गरेपनि त्यसले खासै अर्थ नराख्ने यातायात व्यबसायीहरुले प्रतिक्रिया दिएका छन् ।
जिल्ला प्रशासनले रुपन्देही जिल्ला भित्र मात्रै सञ्चालन गर्न पाउनेगरी निजी तथा सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरेको हो । सार्वजनिक यातायातमा सवारी साधनको सिट क्षमता भन्दा आधा मात्रै यात्रु राख्नुपर्नेछ भने ५० प्रतिशत थप भाडा लिन पाउनेछन् । त्यस्तै चालक र सहचालकले अनिवार्य रुपमा मास्क तथा भाईजरको प्रयोग गर्नुपर्नेछ भने सवारी साधनलाई समय सयममा निर्मलीकरण गर्नुपर्नेछ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीको यो निर्णयले यातायात व्यबसायीलाई केही राहत महसुस भएपनि यसको खासै औचित्य नभएको पश्चिम नेपाल बस व्यबसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेलले बताउनु भयो । रुपन्देही जिल्ला भित्र मात्रै सवारी साधन सञ्चालन गरेर गाडी चल्यो भन्ने भन्दा अरु केही नहुने उहाँको भनाई छ । यद्यपी भोलीदेखि रुपन्देही जिल्लामा सार्वजनिक सवारीका साधन सञ्चालनमा आउने छन् । ‘हामीले एक हप्तासम्म जिल्ला भित्र मात्रै चलाएर हछौं ।’ उहाँले भन्नुभयो–‘त्यसबेलासम्म पनि देशभर सवारी साधान सञ्चालन गर्ने वातावरण बनेन भने जिल्ला भित्रमात्रै गाडी चलाउन सक्दैनौं ।’
कोरोना भाईरस महामारी रोकथाम तथा नियन्त्रणको लागि गत बैशाख महिना देखि जारी निषेधाज्ञाका कारण करिव ३ महिना सार्वजनिक सवारी साधान सञ्चालनमा आउन सकेनन् । जसका कारण यातायात व्यबसायमा भएको ठूलो लगानी जोखिममा छ भने सवारी साधन थन्काएर बसेपनि बैंकले व्याजको ताकेता गरिरहेको छ ।
बुटवल यातायात व्यबसायी प्रा.लि.का महासचिव दीपकप्रसाद श्रेष्ठले प्रशासनको जोर बिजोरमै भएपनि सवारी साधान सञ्चालन गर्ने निर्णयले यातायात व्यबसायीलाई केही भएपनि राहत भएको बताउनु हुन्छ । उहाँले भोली (असार १५) देखि नै जिल्ला भित्र सार्वजनिक सवारीका साधन सञ्चालनमा आउने बताउँदै यात्रुलाई पनि स्वास्थ्य मापदण्डको पालना गरेर यात्रा गर्न आग्रह गर्नुभयो ।
तर सरकारले जतिसक्दो चाडो देशभर यातायात सञ्चालनको व्यबस्था मिलाउनु पर्ने उहाँको भनाई छ । ‘लामो समयसम्म सवारी साधान थन्किएका छन्, बैंकले ताकेता गरिरहेको छ ।’ उहाँले भन्नुभयो–‘यातायात व्यबसायीलाई राहतको लागि पनि सरकारले चाडो भन्दा चाडो देशभर सवारी साधन सञ्चालनको व्यबस्था गर्नुपर्छ ।’