एकजना व्यक्तिलाई वार्षिक ९१ लिटर दुधको आवश्यकता पर्छ । त्यसमापनि दुग्धजन्य खाद्यान्न समेत जोड्ने हो भने १०२ लिटर आवश्यक हुन्छ । तर लुम्बिनी प्रदेशमा त्यसको आपूर्ति प्रतिव्यक्ति ७८ लिटर मात्रै छ । एकातिर दुधको पूर्ण आपूर्ति हुन सकेको छैन भने अर्कोतिर किसानले उत्पादन गरेको दुधले राम्रोसंग बजार पाउन सकेको छैन ।
दुग्ध बिकास संस्थानको ५३ औं वार्षिकोत्सवको अवसरमा लुम्बिनी दुग्ध बिकास आयोजनाले शुक्रबार बुटवलमा गरेको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव रेवतीरमण पौडेलले संस्थानलाई प्रतिस्पधि क्षमता बढाउन सुझाव दिनुभयो । उहाँले भारतीय उत्पादनले नेपाली मार्केटलाई डोमिनेटेड गरेको बताउँदै भारतीय उत्पादन र नेपालका पनि निजी क्षेत्रसंग प्रतिस्पर्धी हुन सुझाव दिनुभएको हो ।
ग्रागिण क्षेत्रमा उत्पादन हुने दुधलाई शहर बजारमा वितरण गर्नेगरी सरकारले १ साउन २०२६ मा नेपाल दुग्ध बिकास संस्थान स्थापना गरेको थियो भने २०४६ सालमा लुम्बिनी दुग्ध बिकास आयोजना सुरु भएको थियो । खुल्ला दुधलाई निरुत्साहित गर्नको लागि मन्त्रालयले पत्राचार सुरु गरिसकेको बताउँदै संस्थानको प्रतिस्पर्धी क्षमता बिकासको लागि मन्त्रालयबाट सहयोग गर्ने आश्वासन दिँदै सचिव पौडेलले बस्तुगत प्रस्ताव ल्याउन आग्रह गर्नुभयो ।
नेपाल दुग्ध बिकास संस्थान लुम्बिनी दुग्ध बिकास आयोजनाका प्रमुख परमेश्वर चौधरीले कोभिड महामारीका कारण बिक्रि प्रभावित भएको बताउँदै अब छिट्टै परासी र तौलिहवामा बजार बिस्तार गर्दै गरेको जानकारी गराउनु भयो । उहाँले प्राप्त सुझावहरुलाई संस्थानमा पठाउने जानकारी गराउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश पशुपंछि बिकास महाशाखा प्रमुख तुलसीराम भण्डारीले एकातिर किसानको उत्पादनले बजार नपाउने र अर्कोतिर दुधको अभाव हुनुले राम्रो संकेत नगरेको बताउँदै बजारीकरणको व्यबस्थापन र संकलित दुधको प्रशोधन तथा उत्पादन बिबिधिकरणको लागि औद्योगिक बिकास अपरिहार्य रहेको भनाई राख्नुभयो । दुधको बजारीकरण व्यबस्थित नहुँदा किसान निरुत्साहित भएको बताउँदै उहाँले किसान पेशाबाट पलायन भएभने भोलीको दिनको स्थिती झनै नराम्रो हुने भएकाले समयमै सोंच्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बुटवल औद्योगिक क्षेत्र व्यबस्थापन कार्यालयका प्रमुख निमेश अधिकारी, लुम्बिनी दुग्ध बिकास आयोजनाको कार्यालय बुटवलका प्रशासकीय अधिकृत निरञ्जन भट्टराई वरिष्ठ प्रशासन सहायक अयुव अलि खान, मोतिराम खनाल लगायतले भनाई राख्नुभएको थियो ।