नेपाली काँग्रेसको आसन्न १४ महाधिवेशनमा बुटवल उपमहानगरपालिकाको सभापति पदमा मौजुदा समितिका उपसभापति बिमलराज भट्टराईलाई अगाडि सारिएको छ । नेपाली काँग्रेस बुटवल ८ को शनिबार सम्पन्न क्रियाशिल भेलाले नगर सभापतिमा अगाडि सारेको हो ।
वडा सभापति नरबहादुर रजालीको सभापतित्वमा भएको क्रियाशिल भेलामा सो वडाका क्रियाशिल सदस्यहरु पूर्व वडा सभापति राधेश्याम राजभण्डारी, अधिवक्ता कृष्ण पोखरेल र प्राध्यापक प्रेम पौडेलले वडाबाट नगरको सभापतिमा भट्टराईलाई सर्वसम्मत रुपमा अगाडि बढाउने प्रस्ताव गर्नुभएको थियो ।
सोही अनुसार क्रियाशिल भेलाले सर्वसम्मत रुपमा निर्णय गरेको वडा सभापति रजालीले बताउनु भयो । उक्त वडामा ५६४ जना क्रियाशिल सदस्य छन् । वडाको पदाधिकारी तथा क्षेत्रीय प्रतिनीधि पनि सकेसम्म सर्वसम्मत रुपमा चयन गर्ने निर्णय गरेको छ । सहमतिको लागि पूर्व क्षेत्रीय सभापति हरिबहादुर आचार्य क्षेत्रीको संयोजकत्वमा सात सदस्य समिति गठन गरिएको सभापति रजालीले बताउनु भयो ।
