बुटवलको ट्राफिक व्यबस्थापनको लागि बिभिन्न टोलबिकास संस्थाले ट्राफिक प्रहरीलाई ट्राफिक संकेत बोर्ड प्रदान गरेका छन् । बुटवलका बिभिन्न टोल बिकास संस्था तथा व्यबस्सायिक प्रतिष्ठानहरुले लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई आईतबार १०३ वटा ट्राफिक संकेत बोर्ड प्रदान गरेका हुन् ।
त्यस अवसरमा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक योगेन्द्र सिंह थापाले बिकास, व्यापार, जनघनत्व सबै हिसावले बुटवल अगाडि रहेको बताउँदै त्यसै अनुसार ट्राफिक व्यबस्थापनमा पनि समस्या रहेको उल्लेख गर्नुभयो । सबैको साथ र सहयोगमा समस्या समाधान गर्न सकिने औंल्याउँदै उहाँले ट्राफिक व्यबस्थापनमा पुरा प्रयास गर्ने बताउनु भयो ।
उहाँले बुटवलको अव्यबस्थित पाकिङ्लाई व्यबस्थित गर्नको लागि ट्राफिक संकेत सहितको बोर्ड महत्वपूर्ण हुने बताउँदै ट्राफिक बोर्डले प्रहरीको उपस्थिती बताउने जानकारी गराउनु भयो । ट्राफिक व्यबस्थापनको लागि अर्को महत्वपूर्ण पाटो सिसिटिभि भए पनि हाल रहेका सिसिटिभि बिग्रिएर कामै नगर्ने अवस्थामा रहेको प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेले बताउनु भयो । बुटवल बजारमा जडान गरिएको १२ वटा सिसिटिभि सबै बिग्रिएको र बनाउनको लागि थप ५ लाख रुपैंया लाग्ने भएपनि सडक पूर्वाधान निर्माणकै चरणमा भएकाले व्यबस्थित गर्न नसकिएको उहाँले बताउनु भयो ।

प्रहरीलाई अमरबुद्ध टोलविकास संस्थाले २१ वटा, विपी चोक टोल विकास संस्थाबाट १० वटा, अमर तिनाउ टोल विकास संस्थाबाट १५ वटा, राममन्दिर टोल विकास संस्थाले १५ वटा, शोनी सोरुम अमरपथले १५ वटा, सिद्धार्थ हार्डवयरले १६ वटा र द फेन्सी स्पोर्टले १६ वटा पार्किङ व्यबस्थापन बोर्ड प्रदान गरेका हुन् ।