नेपाली कांग्रेस रुपन्देहीले पार्टीका सस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा बृक्षारोपण गर्ने भएको छ । बीपीको ३९ औं स्मृति दिवसको अवसर पारेर नेपाली काँग्रेस रुपन्देहीले तिलोत्तमाको वडा नम्वर १७ मा रहेको बीपी ग्राम सेवा केन्द्रमा यहि साउन ६ गते बुधबार बृक्षारोपण गर्न लागेको हो ।
बीपी स्मृति दिवसमा काँग्रेस रुपन्देहीले प्रत्येक वर्ष बृक्षारोपण गर्दै आएको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै जिल्लाका सवै तहका समिती, महासमिति सदस्य, महाधिवेशन प्रतिनीधि, क्षेत्रीय प्रतिनिधी, लगायत पार्टीका भातृ तथा सुबेच्छुक संघ संस्थाहरुलाई सहभागि हुन अपिल गरिएको नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिनुभयो ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन संघर्ष गरेका काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको वि.स. २०३९ साल साउन ६ गते निधन भएको थियो । प्रत्येक वर्षको साउन ६ गते नेपाली काँग्रेसले विपी स्मृति दिवसको रुपमा मनाउँदै आएको छ ।
वि.सं. २००५ सालमा बनारस, २००९ सालमा जनकपुर र २०१७ सालमा काठमाडौंमा भएको नेपाली काँग्रेसको महाधिवेशनबाट बीपीले पार्टीको नेतृत्व लिनु भएको थियो । २०१५ सालमा बहुदलीय व्यवस्थामा आधारित संसदको निर्वाचनमा विराटनगरबाट विजयी बनेका विपी २०१६ साल असार १६ गते नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।