बुटवलका मुख्य सडकमै घाम लाग्दा धुलो उड्ने र झरी हुँदा हिलो हुने नियति भोग्नु परेको छ । पुर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्ग र उत्तर–दक्षिण जोड्ने सिद्धार्थ राजमार्गमै यो नियति भोग्नु परेको हो ।
पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्ग र उत्तर–दक्षिण जोड्ने सिद्धार्थ राजमार्गले बुटवल उपमहानगरपालिकाको बिच बजार छिचोल्छ । त्यस्तै लुम्बिनी प्रदेशको अस्थायी मुकाम पनि बुटवलमै छ । तर बुटवलमा पर्ने दुबै राजमार्गको दुरावस्था सुधार गर्नेतिर न संघीय सरकारको ध्यान गएको छ, न त प्रदेश र स्थानीय सरकारको नै ।
यी सडकको दुरावस्था हेर्ने हो भने सवारी साधन सञ्चालन गर्ने अवस्था छैन । यसले पैदलयात्रीलाई समेत उत्तिकै समस्या छ । बुटवल अस्पताललाईनका औषधी व्यबसायी नारायण पौडेल भन्नुभयो–‘यो सडकले तीनवटै सरकारलाई गिज्याईरहेको छ ।’
नगिज्याओस पनि कसरी ?, सडकभरी खाल्डैखाल्डा छन् । ‘झरी भयो भने पानी भरिन्छ, सवारी साधन चलाउन पनि मुस्किल पर्छ, पैदलयात्रीलाई हिलो छ्यापीन्छ ।’ एकजना माईक्रोबसका चालकले भने–‘पानी परेन, घाम लाग्यो भने धुलो मडारिन्छ ।’ यसले सडकमा पैदलयात्रा गर्नेलाई उत्तिकै सास्ती हुन्छ । यसले यातायात व्यबसायी, पैदलयात्री मात्रै होईन सडक आसपासका व्यबसायीलाई उत्तिकै हैरानी बनाएको छ । मुख्यराजमार्गकै अवस्था दयनीय छ भने नगरपालिकाका भित्री सडकहरुको अवस्था कस्तो होला ? बुटवल उपमहानगरपालिकालाई गम्भिर प्रश्न छ ।
यो सडकमा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु देखि सांसदहरु र नगरपालिकाका मेयर, उपमेयरदेखि वडा अध्यक्षहरु र सदस्यहरु दिनमा पनि कम्तिमा दुई पटक ओहोर दोहोर गर्दछन् । तर सडकको यो दुरावस्थालाई नजरअन्दाज गरिरहेका छन् ।