लुम्बिनी प्रदेशकी प्रदेश सभा सदस्य विमला वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाएर राखेको बताउनु भएको छ । प्रदेश सभा सदस्य वलीले बिहिबार पत्रकार सम्मेलन गरेर यहि साउनको १५ गतेदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा बन्धक बनाएर राखेको बताउनु भएको हो ।
उहाँले त्यसबिचमा एमालेमा फर्किए भनेर जवरजस्ती हस्ताक्षर गराएर १९ गते विज्ञप्ती जारी गराएको बताउनु भयो । एमाले र माओवादीको एकता पछि बनेको नेकपाबाट उम्मेदवार बनेकी वली दाङ्बाट उपनिर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो भने सर्बोच्चले एमाले र माओवादी केन्द्र व्यूत्याईदिएपछि सांसद वलीले माओवादी केन्द्र रोज्नुभएको थियो ।
यहि साउनको १५ गते नेकपा एमालेका प्रमुख सचेतक भूभिश्वर ढकाल र नेता मानबहादुर राउत तुलसीपुरस्थित आफ्नो घरमा पुगेको बताउँदै उहाँले आफूलाई एमालेमा आउन दबाव दिएको भएपनि आफूले ईन्कार गरेको बताउनु भयो ।
आफू उपचारका लागि नेपालगञ्ज जान लागेको बताएपछि प्रमुख सचेतक ढकालले आफूहरु पनि नेपालगञ्ज नै जान लागेको र संगै जाऔं भनेपछि विश्वास गरेर गाडीमा बसेको बताउनु भयो । तर अमिलिया आएपछि नेपालगञ्जतिर जानेपर्नेमा बुटवलतिर गाडी मोडिएपछि आफूले बारम्बार प्रतिवाद गरेपनि गाडी नरोकि मुख्यमन्त्री निवास पु¥याएको बताउनु भयो ।
मुख्यमन्त्रीको निवासमा पु¥याएपछि मुख्यमन्त्री पोखरेलले आफूलाई एमालेमा आएर मन्त्री बन्न प्रलोभन देखाएको समेत सांसद ओलीले आरोप लगाउनु भएको छ । आफूले निरन्तर ईन्कार गरेपनि १८ गतेसम्म मुख्यमन्त्रीको निवासबाट बाहिर निस्कनै नदिएर आफूलाई मानसिक रुपमा दवाव दिईरहेको बताउनु भयो । उहाँले आफूलाई दवावमा पारेर विज्ञप्तीमा हस्ताक्षर गराएको र अरु केही माईन्यूटहरुमा समेत हस्ताक्षर गरराएको बताउनु भएको छ । तर कुन माईन्युट हो आफूलाई थाहा नभएको बताउनु भयो । उहाँले आफूलाई मुख्यमन्त्री निवासमा सांसद सरस्वती गौतमसंग राखेको बताउनु भयो ।
त्यसपछि पनि झन कडाईका साथ निवास भित्रै राखिएको बताउँदै उहाँले २० गते मात्रै आफू त्यहाबाट भाग्न सफल भएको बताउनु भयो । २० गते मध्यान्हतिर अरु सबै आराम गरिरहेका बेला शौचालयको चप्पल लगाएर आफू त्यहाबाट भागेको बताउँदै उहाँले त्यहाबाट माओवादी केन्द्रको संसदीय दलमा पुगेको बताउनु भयो । आफ्नो चप्पल लगाउँदा आवाज आउने डरले शौचालयको चप्पल लगाएर भागेको बताउनु भयो ।