लुम्बिनी प्रदेश सभाको बिशेष अधिवेशन रोक्न माग गर्दै सत्तारुढ दल एमालेका सांसदले सर्बोच्चमा दायर गरेको रिटमा सुनुवाई हुन सकेन । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले बुधबार बोलाएको बिशेष अधिवेशन बिरुद्ध एमाले सांसद लिला गिरीले सर्बोच्चमा रिट दायर गर्नुभएको थियो ।
उक्त रिट मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा राखिएको भएपनि हेर्न नभ्याइएको सर्वोच्चले जनाएको छ । अल्पमतमा रहेका मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध विपक्षी गठबन्धन नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्ताव सहित प्रदेश प्रमुख समक्ष बिशेष अधिवेशन माग गरेका थिए ।
विपक्षी गठबन्धनको माग बमोजिम प्रदेश प्रमुख शेरचनले यहि साउन २७ (भोली बुधबार) बिशेष अधिवेशन आह्वान गर्नुभएको थियो । सोही बिशेष अधिवेशन बिरुद्ध सत्तारुढ दल एमाले सर्बोच्च गएको थियो । सर्बोच्चले उक्त रिट हेर्न नभ्याईनेमा राखेपछि मुख्यमन्त्री पोखरेल बिरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्न आह्वान गरिएको बुधबारको बिशेष अधिवेशन नरोकिने भएको छ ।
लुम्बिनी प्रदेश सभामा विपक्षी गठबन्धन नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । लुम्बिनी प्रदेशमा सत्तारुढ दल एमालेका ३८ सांसद छन् भने विपक्ष गठबन्धनमा नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र राष्ट्रिय जनमोर्चाको १ गरी ४१ सांसद छन् ।