नेपालकै नमुना नगरपालिका बुटवल उपमहानगरपालिकामा एक हप्तादेखि फोहोर उठ्न सकेको छैन । दैनिक उत्पादन हुने फोहोर नगरपालिकाले नउठाउँदा ढंगुर बनेर सडकमा गनाईरहेको छ । सडकमा फालिएका फोहोरले नमुना बुटवल उपमहानगरपालिकालाई गिज्याईरहेको पनि छ ।
फोहोर फाल्ने ठाउँ भरिएका कारण फोहोर उठाउन समस्या भएको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले बताउनु भयो । बुटवल उपमहानगरपालिका वडा नं. ११ पवित्रनगरको माथिपट्टी नगरपालिकाले फोहोर फाल्दै आएको छ । त्यस ठाउँमा भरीएको र अर्को विकल्प तयार नभईसकेकाले व्यबस्थापन गर्न समस्या भएको उहाँले बताउनु भयो ।
सडकबाट फोहोर नउठेपछि बुटवल उद्योग बाणिज्य संघको टोलीले आईतबार नगरपालिकालाई त्यस विषयमा ध्यानाकर्षण गराएको थियो । करिव एक हप्तादेखि फोहोर नउठ्दा नगरबासीले गुनासो गर्न थालेको र नगरपालिकाले पनि खासै ध्यान नदिएको पाईएकाले तत्काल फोहोर उठाउने व्यबस्था मिलाउन संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजुले मेयर सुवेदीलाई आग्रह गर्नुभयो ।
‘एकातिर फोहोर फाल्ने ठाउँ भरिएर राख्ने ठाउँछैन, बाढिले पनि केही समस्या भएको हो ।’ मेयर सुवेदीले भन्नुभयो–‘बुटवल, सैनामैना र कञ्चन मिलेर सैनामैनामा व्यबस्थापनको तयारी हुँदैछ ।’ काम भयो भने तत्काल बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाको फोहोर व्यबस्थापन हुने र बिस्तारै रुपन्देही र छिमेकी जिल्लाहरुलाई समेत समेट्न सकिने उहाँले बताउनु भयो । मेयर सुवेदीले भनेजस्तै यो काम तत्कालै भने हुनेछैन । रुपन्देहीको सैनामैना नगरपालिका सालभण्डी माथिको जंगलमा प्रस्ताव गरिएको यो परियोजना फोहोर व्यबस्थापन संगै फोहारलाई प्रशोधन गरेर मोल उत्पादन गर्ने हो । तत्कालै प्रकृया पुरा हुने र तुरुन्तै काम सुरु भईहालेपनि कम्तिमा २ वर्ष लाग्ने उहाँले बताउनु भयो ।