लुम्बिनी प्रदेश सभाकी एमाले सांसद रमा घर्ती मगरले नेकपा एकिकृत समाजवादी पार्टी रोज्नु भएको छ ।
समानुपातिकतर्फबाट निर्वाचित सांसद घर्तीले मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालय दाङ पुगेर आफूले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जानकारी गराउनु भयो ।
आयोगले लुम्बिनी प्रदेश सभा सचिवालयले यसबारे पत्राचार गरेपछि प्रदेश सभामा कायम राजनीतिक दल र प्रदेश सभा सदस्यको अभिलेख अद्यावधिक हुनेछ । नेकपा एकिकृत समाजवादी पार्टी रोज्ने लुम्बिनीको उहाँ पहिलो सांसद हो ।
सांसद घर्तीको यो निर्णय संगै लुम्बिनी प्रदेश सभामा राजनीतिक दलको संख्या ६ पुगेको छ । यस अगाडी एमाले, काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा थिए ।
उहाँले आफ्नो दलले लुम्बिनीमा चार दलीय गठवन्धनलाई समर्थन रहने र सरकारमा पनि जानसक्ने बताउनु भएको छ ।
८० सदस्यीय प्रदेश सभामा एमालेका ३७ सांसद थिए । घर्तीले नेकपा एकीकृत समाजवादी रोजेपछि अब एमाले सांसदको संख्या ३६ भएको छ ।