नेकपा एमालेका उपमहासचिव बिष्णु पौडेलले दल विभाजन सम्बन्धि अध्यादेश सदनमा टेवुल गरेर पारित गर्न गर्न सरकारलाई चुनौती दिनुभएको छ । एमालेलाई विभाजन गर्नकै लागि अध्यादेशको दुरुपयोग गरिएको आरोप लगाउँदै उहाँले यो अध्यादेश कायम रहे काँग्रेस पनि विभाजित हुने भएकोले पास गर्न सरकार आफै तयार भएको जिकिर गर्नुभयो ।
उहाँले एमालेबाट फुटेर बनेको माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीलाई दाजुभाईको रिसले आमाको टाउकोमा बन्चरो प्रहार गरेको आरोप लगाउनु भयो । प्रेस चौतारी नेपालले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा एमाले विभाजित नभएको बताउँदै सर्पले काँचुली मात्रै फेरेको टिप्पणी गर्नुभयो ।
माधव नेपालको पार्टी पानीको फोका भएको बताउँदै उहाँले काँग्रेस, माओवादी, जसपाको कृपामा बस्नुपर्नेबाट कुनै अपेक्षा पनि गर्न नसकिने र कुनै सम्भावना पनि नभएको बताउनु भयो । उहाँले माधव नेपाल पक्षलाई घिनलाग्दो अपराध गरेको आरोप लगाउनु भयो ।
पूर्वमन्त्री समेत रहेका उपमहासचिव पौडेलले एमसिसिका विषयमा पत्रकारकको जिज्ञासामा पहिले सरकारले निर्णय गरेपछि मात्रै एमालेले आफ्नो धारणा बनाउने बताउनु भयो । एमाले लुम्बिनी प्रदेश संयोजक समेत रहनुभएका उपमहासचिव पौडेलले प्रदेशमा पार्टी विभाजनको कुनै असर नपरेको बताउनु भयो । उहाँले लुम्बिनीमा पार्टी विभाजन र विग्रह नहुने बताउँदै अलमामा रहेका नेता कार्यकर्तालाई कसैप्रति भेदभाव, पक्षपात र पूर्वाग्रह नहुने बताउँदै एमालेमै आउन आग्रह गर्नुभयो ।
एमाले लुम्बिनी प्रदेश कमिटिको मंगलबार बैठक बसेको थियो । बैठकले प्रदेश अध्यक्षमा लिला गिरीलाई चयन गरिएको उहाँले जानकारी गराउनु भयो । त्यस्तै भदौ ३० भित्र प्रदेशका १२ वटै जिल्लामा कार्यकर्ता भेला गरि ३० गते बुटवलमा प्रदेश स्तरीय कार्यकर्ता भेला गरिने र उक्त भेलालाई अध्यक्ष केपि ओलीले सम्बोधन गर्ने जानकारी गराउनु भयो ।