कोरोना महामारीको कारण गतवर्ष नयाँ नोट सटही नगरेको नेपाल राष्ट्र बैंकले यो वर्षभने असोज पहिलो हप्तादेखि नै नयाँ नोट सटही गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले दशैंको लागि यो वर्ष आगामी असोजको ४ गतेदेखि नयाँ नोट सटही गर्ने भएको हो ।
नेपाल राष्ट्र बैंकले काठमाण्डौको बालुवाटार कार्यालय र प्रादेशिक कार्यालयहरुबाट नयाँ नाटे सटही गर्ने तयारी गरेको छ । दशैंको लागि ‘क’ वर्गका बैंकहरुले समेत नयाँ नोट सटही गर्नेछन् । दशैंको समयमा नयाँ नोट सटहीका लागि धेरैजसो बैंकहरुमा नयाँ नोट पुगिसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले हरेक वर्ष दशैंमा नयाँ नोट सटही गर्दै आएको थियो । तर कोरोना महामारीका कारण गत वर्ष भने नयाँ नोट सटही गरेको थिएन । यो वर्ष कोरोनाको संक्रमण धेरै घटेकाले नयाँ नोट सटही गर्न लागेको हो ।
नयाँ नोट सटहीमा राष्ट्र बैंकमा निकै भिडभाड हुने गरेको थियो । यो वर्ष बैंकको क्षेत्रीय कार्यालय र अरु बैंकहरुले समेत सटही गर्ने भएपछि विगतको जस्तो भिड नहुने राष्ट्र बैंकले आँकलन गरेको छ । यो वर्ष नेपाल राष्ट्र बैंकले प्रति व्यक्ति १००, ५०, २०, १० र ५ का एक एक गड्डी गरि १८ हजार ५ सय रुपैंया सटही गर्नेछ ।