नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत पालिका भन्दा माथिल्ला अधिवेशन दशैं पछि हुने भएको छ । पार्टीमा देखिएको क्रियाशिल विवाद समाधान नहुँदा तालिका अनुसार वडा अधिवेशन नसकिएकाले महाधिवेशन तालिका प्रभावित भएको हो ।
बुधबार सिंहदरबारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा महाधिवेशन तालिका संशोधन गर्ने विषयमा सहमति भएको छ । बैठकमा महाधिवेशन अन्तरगत स्थानीय तह (पालिका)को अधिवेशन दशैं अगाडि सकाउने गरी तालिका संशोधन गर्ने सहमति जुटेको हो । पार्टीको १४ औं महाधिवेशनको तालिका अनुसार वडा अधिवेशन सम्पन्न नभएपछि महाधिवेशनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा बैठक बसेको थियो ।
क्रियाशिल सदस्यता विवादका कारण महाधिवेशनको संशोधित तालिका अनुसार पनि वडा अधिवेशन सम्पन्न हुन सकेका छैनन् । दशैं अगाडि स्थानीय तहको अधिवेशन मात्रै सम्पन्न गर्नेगरी तालिका संशोधन गर्ने र त्यसभन्दा माथिल्ला समितिका अधिवेशन दशैं पछि गर्ने सहमति भएको हो ।
महाधिवेशनको तालिका अनुसार यहि असाजेको ९ गते स्थानीय तह (पालिका) अधिवेशन तोकिएको थियो । वडा अधिवेशन सम्पन्न भएका जिल्लामा ९ गते नै पालिका अधिवेशन हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताउनु भयो । उहाँका अनुसार वडा अधिवेशन हुन नसकेका जिल्लाको हकमा पहिले क्रियाशिल सदस्यता टुङ्ग्याउने र अधिवेशनको मिति तोकिने छ ।