प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकलाई बहिस्कार गरेको एमालेलाई सत्ता गठबन्धनका दलहरुले संवादबाट भाग्न खोजेको आरोप लगाएका छन् ।
एमालेले संसदमा निरन्तर अवरोध गर्दै आएपछि सरकारको तर्फबाट प्रधामन्त्री देउवाले निकास खोज्नको लागि मंगलबार बिहान सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक संसदको अवरोधलाई निकास दिने विषयमा केन्द्रत छ । तर लगातार संसद अवरोध गर्दै आएको प्रमुख विपक्षी एमाले भने सहभागि भएको छैन । बैठकमा एमाले बाहेक सबै दलका शिर्ष नेता सहभागि छन् ।
पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालेले सभामुखमाथि प्रश्न उठाउँदै आएको छ । संसदमा अवरुद्ध गरेको दल नै सर्वदलीय बैठकमा नआएको भन्दै एमालेलाई सम्वाद र वार्ताबाट पर भाग्न खोजेको दलहरुले आरोप लगाएका हुन् ।
सर्वदलीय बैठकमा सहभागी दलहरुले संसदलाई निर्वाध र मर्यादित हिसाबले अगाडि बढाउन सकारात्मक भूमिका खेल्न विपक्षी दलका नेता केपी शर्मा ओलीलाई आग्रह समेत गरेका छन् ।
संसदको अवरोध हटाउन विषयमा यस अगाडि नै सभामुख अग्नीप्रसाद सापकोटाले गरेको प्रयासमा पनि एमाले सहभागि नभएपनि प्रधानमन्त्री आफैले सर्वदलीय बैठक बोलाउनु भएको थियो । यसले वार्ता र संवादमा बसेर समस्याको समाधान खोज्नुको साटो एमालेले जसरी पनि संसदलाई अरोध गर्ने नीति लिएको देखिन्छ ।