गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीमा थपिएको १५ प्रतिशत राशन भत्ता तल्लो तहसम्म पु¥याउन प्रहरीका उच्च तहका अधिकारीहरुलाई निर्देशन गर्नुभएको छ । ‘प्रहरी सेवामा १५ प्रतिशत राशन भत्ता बृद्धि गरिएको छ ।’ गृहमन्त्री खाँणले भन्नुभयो–‘यो सुविधा देशभरका सबै प्रहरी जवानहरुले प्राप्त गर्न सकुन् ।’
बुधबार रुपन्देहीको भैरहवामा नेपाली काँग्रेसले आयोजना गरेको स्वागत तथा सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका गृहमन्त्री खाँणले प्रहरी सेवामा बढुवामा लामो समय लाग्ने भएकाले दर्जा थप गरिएको पनि बताउनु भयो ।
उहाँले पछिल्लो समयमा नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लहर आएको बताउँदै यसले पार्टीमा उर्जा थपिएको बताउनु भयो । यसले पार्टीमा आगामी दिनमा थप सवल र सुदृढ हुने समेत उहाँले विश्वास गर्नुभयो । कार्यक्रममा सिद्धार्थनगर उद्योग बाणिज्य संघका उपाध्यक्ष दिलिप कान्दू सहित भैरहवाका ८ सय जना बढी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । उनीहरुलाई पार्टीमा स्वागत गर्दै मन्त्री खाँणले आगामी निर्वाचनमा सबै तहमा काँग्रेसको जित सुनिश्चित भएको दावी गर्नुभयो । अझै पनि कोरोना महामारी अन्त्य नभईसकेको बताउँदै उहाँले सावधान रहिरहन आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले आगामी निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्नको लागि पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनु पर्ने भनाई राख्नुभयो ।
त्यस अवसरमा पार्टीमा नवप्रवेशीलाई स्वागत गर्नुको साथै लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका बसिउद्धिन खाँ तथा पार्टीको निर्वाचनमा सिद्धार्थनगरमा विजयी भएकाहरुलाई सम्मान गरिएको थियो । नगर सभापति कोशिसबहादुर खड्काले पार्टी प्रवेश गर्न चाहने अझै भएपनि स्थान र समय अभावका कारण पुनः अर्को कार्यक्रम गरेर उनीहरुलाई पार्टीमा स्वागत गर्ने जानकारी गराउनु भयो ।