नेपाली काँग्रेसको १४ औं अधिवेशनको कार्यतालिका अनुसार रुपन्देही जिल्लामा क्षेत्रीय अधिवेशन सकिएको छ । प्रतिनीधि सभामा ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा क्षेत्रीय अधिवेशनको परिणामले पार्टीको संस्थापन समुह (सभापति शेरबहादुर देउवा) पक्ष बलियो देखिएको छ ।
क्षेत्रीय अधिवेशनको परिणाम हेर्दा रुपन्देहीका ५ निर्वाचन क्षेत्र मध्ये २ वटा क्षेत्रमा संस्थापन ईतर समुहका सभापति निर्वाचित भएका छन् भने बाँकी तीन वटा क्षेत्रमा संस्थापन पक्षका सभापति विजयी भएका छन् । क्षेत्र नं. २ मा हरि लम्साल र ४ मा मुकेश यादव संस्थापन ईतर समुहबाट निर्वाचित भएका हुन् भने क्षेत्र नं. १ मा हिराबहादुर खत्री, ३ मा सुशिल गुरुङ र ५ मा वसिउल्लाह मुसलमान संस्थापन समुहबाट निर्वाचित भएका हुन् ।
संस्थापन समुहमा पनि जिल्लामा नेताहरु बालकृष्ण खाँण र भरतकुमार शाहको अलग अलग समुह देखिएको छ । त्यसरी हेर्दा क्षेत्र नं. १ र ३ मा बालकृष्ण खाँण तथा क्षेत्र नं. ५ मा भरतकुमार शाह निकटका क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनीधि चुनिएका छन् ।
क्षेत्र नं. १ र ३ मा प्यानल नै संस्थापन समुहले जीतेको छ भने सर्वसम्मत भएको क्षेत्र नं. ५ मा केन्द्रमा कोईराला निकटका नेता विष्णु पोखरेल मिलेका कारण केही महाधिवेशन प्रतिनीधि पोखरेलका पनि देखिएका छन् ।
त्यसैगरी क्षेत्र नं. २ मा ९ जना महाधिवेशन प्रतिनीधि संस्थापन समुहका छन् भने क्षेत्र नं. ४ मा भागवण्डामा सहमति गरिएको हो । क्षेत्रीय अधिवेशनको परिणामले रुपन्देहीमा संस्थापन पक्ष बलियो भएपनि सार्वजनिक लेखा समितिका सभापति समेत रहेका भरतकुमार शाहको रोल निर्णायक देखिन्छ ।
संस्थापन समुह बलियो देखिएपनि पछिल्लो समयमा नेता शाहको भूमिका फरक देखिएको छ । केन्द्रमा संस्थापन समुहमा रहेपनि शाह अधिवेशनको समयमा संस्थापन ईतर समुहमा उठबस बाक्लिएको छ । नेता शाहको जुन समुहमा समर्थन हुन्छ त्यही समुहले जिल्लामा जित निकाल्ने निश्चित जस्तै देखिएकाले गृहमन्त्री समेत रहेका नेता खाँणको आँखा त्यता तानेको छ ।
जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा नेता खाँणले जिल्लामा सहमतिबाटै नेतृत्व छनौट गर्नभन्दै छलफलमा केन्द्रीत हुनु भएको छ । नेता खाँणले नेता शाह र संस्थापन ईतर समुहका नेताहरुसंग छलफल अगाडि बढाउनु भएको छ । संस्थापन समुहबाट सभापति पदमा उम्मेदवारको चर्चामा रहेका जिल्ला सचिव रामकृष्ण खाँणले सहमतिका प्रयासहरु भईरहेकाले सहमतिमा नेताहरुले दिने जिम्मेवारी स्वीकार गर्ने बताउनु भयो । संस्थापन समुहबाट सभापति पदमा उपसभापति फणेन्द्र शर्मा, सचिव रामकृष्ण खाँण र नेता युवराज गिरीको नाम चर्चामा भएपनि गिरी महाधिवेशनमै पराजित हुनु भएको छ ।
त्यस्तै संस्थापन ईतर समुहबाट जिल्ला सभापतिमा नेताहरु थानेश्वर घिमिरे, रामबहादुर कार्की, रामचन्द्र ढकाल र अष्टभुजा पाठकको नाममा चर्चामा थियो । यद्यपी पूर्व सभापति समेत रहेका ढकाल महाधिवेशनमा पराजित हुनु भएको छ । जिल्ला सभापति पदमा उम्मेदवारको चर्चामा रहेका नेता रामबहादुर कार्कीले आफूहरु छलफलमै रहेकाले अझै नाम टुंगो लागिनसकेको प्रतिक्रिया दिनुभयो ।