एमाले राष्ट्रिय महाधिवेशन : सर्वसम्मतको प्रयास विफल, अध्यक्षमा ओली र रावल भिड्दै

1.3K

एमाले राष्ट्रिय महाधिवेशन : सर्वसम्मतको प्रयास विफल, अध्यक्षमा ओली र रावल भिड्दै

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मतको प्रयास विफल भएसंगै अध्यक्षमा नेता भिम रावल र कपि शर्मा ओली बिच प्रतिस्पर्धा हुने भएको छ । ओलीले आफूलाई अध्यक्ष सहित नेताहरुलाई विभिन्न जिम्मेवारीमा प्रस्ताव गरेपनि नेता रावलले अध्यक्षमा चुनाव लड्ने अडान लिएपछि सर्वसम्मतको प्रयास विफल भएको हो ।
आईतबार बिहान १० बजे बस्ने भनिएको बन्द सत्र राती अवेर बसेको थियो । ओलीले बन्दसत्रमा गरेको प्रस्तावमा अध्यक्षमा दावी गरेका रावलको नाम पदाधिकारीमा पनि थिएन । त्यस्तै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र ओली बाहेक अरुलाई नेता नमान्ने अडान सहित वरिष्ठ उपाध्यक्षमा दावी गरेका सुवास नेम्वाङ, महासचिवमा दावी गरेका विष्णु पौडेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादललाई उपाध्यक्षमा प्रस्ताव भएको थियो ।

ओलीसंग अध्यक्षमा भिड्दै रावल

ओलीको प्रस्ताव अस्वीकृत गरेका रावलले अध्यक्षमा उम्मेद्वारी दर्ता गराउनु भएको छ । रावलले उम्मेदवारी दर्ता गरेपछि ओलीले पनि अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । निर्वाचन प्रकिया सुरु भएलगत्तै बिहान रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।
अध्यक्षका उम्मेदवार रावललाई महादेव बजगाईंको प्रस्ताव तथा दुधकला बिष्टको समर्थन छ । त्यस्तै ओलीलाई विष्णु पौडेलको प्रस्ताव र शंकर पोखरेलको समर्थन छ । ओलीले प्रस्ताव गरेको पदाधिकारीमा घनश्याम भुसाल र भिम आचार्यको समेत नाम परेको थिएन । अध्यक्षमा रावल र ओलीले उम्मेदवारी दर्ता गराएसंगै घनश्याम भुसालको उपाध्यक्ष र भिम आचार्यको सचिवमा उम्मेदवारी परेको छ । त्यस्तै सचिव पदमा टंक कार्कीको पनि उम्मेदवारी परेको छ । मतदानको तयारी भएपनि कतिबेला सुरु हुने निश्चित भईसकेको छैन ।