काँग्रेस महाधिवेशन कार्यतालिका फेरी संशोधन : प्रदेशको मनोनयन मंसिर १७ गते हुने

1.3K

काँग्रेस महाधिवेशन कार्यतालिका फेरी संशोधन : प्रदेशको मनोनयन मंसिर १७ गते हुने

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका फेरी संशोधन गरिएको छ । प्रदेश अधिवेशनको मंसिर १५ गते मनोनयनको कार्यतालिकालाई संशोधन गरेर मंसिर १७ गते सारिएको हो ।
नेपाली काँग्रेसले मंसिर १६ गते प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रम गर्ने र त्यसको भोलीपल्ट १७ गते मनोनयन गर्ने नयाँ कार्यतालिका तय गरेको छ ।
त्यस्तैगरी केन्द्रीय महाधिवेशनमा पनि उद्घाटन कार्यक्रम पछि मात्रै उम्मेदवारी मनोनयन गर्नेगरी व्यबस्था मिलाईएको छ । केन्द्रीय महाधिवेशनको उद्घाटन मंसिर २४ गते हुनेछ भने उम्मेद्वारी मनोनयन २५ गतेलाई सारिएको छ । यस अगाडि निर्वाचन समितिले मंसिर २१ गते उम्मेद्वारी मनोनयनको कार्यतालिका सार्वजनिक गरेको थियो ।
सोमबार पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहितका नेताहरु महाधिवेशन कार्यतालिकाको विषयमा निर्वाचन समितिका पदाधिकारीसंग छलफल गर्नुभएको थियो । छलफलमा नेताहरुले महाधिवेशन उद्घाटन पूर्व मनोनयन गर्नु व्यबहारिक नहुने भन्दै उद्घाटन पछि मात्रै मनोनयनको व्यबस्था मिलाउन निर्वाचन समितिलाई आग्रह गरेका थिए ।
नेपाली काँग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन यहि मंसिरको २४ देखि २६ सम्म काठमाण्डौमा हुँदैछ ।