नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत प्रदेशको नेतृत्व लिन लुम्बिनीमा दुई प्यानल चुनावी प्रतिस्पर्धामा अगाडि बढेका छन् । पार्टी सभापति शेरबहादुर देउवा र देउवा ईतर समुहले छुट्टाछुट्टै टिम बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।
दुई प्यानलमा विभाजित नेपाली काँग्रेसको प्रदेशमा नेतृत्व लिनको लागि सभापति देउवा समुहबाट रुपन्देहीका भरतकुमार शाह र देउवा ईतर समुहबाट रोल्पाका अमरसिंह पुनले सभापतिमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
देउवा समुहका शाहको प्यानलबाट उपसभापतिमा दाङका राजु खनाल र कपिलबस्तुका सुधाकर पाण्डे, महामन्त्रीमा बर्दियाका जन्मजय तिमल्सिना र प्युठानका खिमानसिंह रायमाझी तथा सहमहामन्त्रीमा बाँकेका लक्ष्मीनारायण शाह, रुपन्देहीकी शरिता चौधरी र बाँकेकी माया पुनले उम्मेदवारी दर्ता गर्नुभएको छ भने देउवा ईतर पुनको प्यानलबाट उपसभापतिमा गुल्मीका भुवनप्रसाद श्रेष्ठ र रुपन्देहीका अष्टभुजा पाठक, महामन्त्रीमा नवलपरासी पश्चिमका बिक्रम खनाल र कपिलबस्तुका सुरेन्द्रराज आचार्य, सहमहामन्त्रीमा दाङका खगराज पाण्डे, अर्घाखाँचीका बिष्णु मुस्कान र प्युठानकी निमा गिरीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
सभापति, पदाधिकारी र सदस्य पदमा दुई प्यानल बाहेक महामन्त्रीमा एक जनाको उम्मेदवारी परेपनि फिर्ता भएको छ भने सदस्य पदमा दुई जनाको उम्मेद्वारी परेको छ । महामन्त्रीमा अर्घाखाँचीका ताराप्रसाद फुल्लेलले उम्मेदवारी दर्ता गरेपनि उहाँले उम्मेदवारी फिर्ता लिनु भएको सहायक निर्वाचन अधिकृत जीवनारायण अधिकारीले बताउनु भयो ।
प्रदेश सदस्य पदमा खस आर्य महिलामा अर्घाखाँचीकी साबित्रा वेलबासे र खुल्लामा नवलपरासी पश्चिमका ऋषिराम पौडेलको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार भोली शनिबार मतदान हुनेछ । प्रदेश प्रतिनीधि र महाधिवेशन प्रतिनीधि गरी लुम्बिनी प्रदेश अधिवेशनमा १ हजार ५८५ जना मतदाता छन् ।
प्रदेश अधिवेशनबाट १ जना सभापति, २ उपसभापति, २ महामन्त्री, १ महिला सहित ३ सह–महामन्त्री गरी ८ जना पदाधिकारी र प्रत्यक्ष सदस्यतर्फ जिल्लागत रुपमा १२ जिल्लाबाट १२ महिला सहित २४ जना र खुल्लामा ५ महिला सहित १७ जना निर्वाचित हुनेछ्न । समावेशी सदस्यमा खस आर्यतर्फ ४ महिला सहित ८ जना, आदिवासी जनजातितर्फ २ महिला सहित ५ जना, मधेशीतर्फ २ महिला सहित ४ जना, दलिततर्फ २ महिला सहित ४ जना, थारुतर्फ २ महिला सहित ४ जना, मुस्लिमतर्फ १ महिला सहित २ जना र अल्पसंख्यक वा अपांगतर्फ १ जना गरी जम्मा ७९ जना निर्वाचित हुनेछन् ।