मुलुकको सबैभन्दो पुरानो लोकतान्त्रिक शक्ति नेपाली काँग्रेसको १४ औं महाधिवेशन यहि मंसिरको २४–२७ गतेसम्म काठमाण्डौमा हुँदैछ । महाधिवेशन नजिकिँदै जाँदा नेताहरुले केन्द्रीय पदाधिकारी र सदस्यमा उम्मेदवारी पनि घोषणा गरिरहेका छन् ।
महाधिवेशनबाट नेतृत्व लिनका लागि संस्थापन र संस्थापन ईतर समुहमा उम्मेद्वार छनौटमा रस्साकसी चलिरहँदा लुम्बिनी प्रदेशमा पनि नेताहरुले उम्मेदवारी घोषणा गरिरहेका छन् । प्रदेश अधिवेशन सकिएसंगै लुम्बिनीबाट केन्द्रमा आकाँक्षा राख्दै नेताहरुले मत माग्न सुरु गरेका छन् । लुम्बिनी काँग्रेस नेता गृहमन्त्री बालकृष्ण खाँणको गृह प्रदेश पनि हो । यो प्रदेशबाट गृहमन्त्री समेत रहेका रुपन्देहीका खाँणको महामन्त्री पदमा दावी छ ।
नेपाली काँग्रेसमा केन्द्रमा संस्थापन र संस्थापन ईतर समुहमा विभाजित भएजस्तै वडा देखि प्रदेश तहको अधिवेशनलाई हेर्दा माथिदेखि तलसम्म प्रष्ट गुट देखिएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको विश्वास पात्र खाँण टिममा महामन्त्रीको लागि लविङमा हुनुहुन्छ । आफ्नो गृह प्रदेश लुम्बिनीमा प्रदेश अधिवेशनको संयोजक समेत रहेका खाँणले पार्टीको संस्थापन समुहलाई जिताउन भने सक्नुभएन । यसले खाँणलाई गृहप्रदेशमै कमजोर देखाएको छ । लुम्बिनी प्रदेशमा सभापति देउवा समुहका उपसभापतिमा दाङका राजु खनाल र एउटा सदस्य बाहेक सबै पदमा हार व्यहोर्नु परेको थियो ।
त्यस्तै गुल्मीका चन्द्र भण्डारीको केन्द्रीय उपसभापति पदमा दावी छ । १३ औं महाधिवेशनमा तत्कालिन सस्थापन पक्ष (रामचन्द्र पौडेल) समुह छाडेर देउवा समुहमा आएका भण्डारी लामो समय उक्त समुहमा टिक्न भने सक्नुभएन । अहिले संस्थापन ईतर समुहमै फर्किनु भएको छ ।
देउवा समुहमा रहेकी अर्घाखाँचीकी पुष्पा भुसाल पदाधिकारीमा बलियो दावेदारको रुपमा हेरिएको छ । महिला नेतृ भुसालको सहमहामन्त्रीमा दावी देखिन्छ । त्यस्तै दाङ्का दीपक गिरी, बर्दियाका किशोर सिंह राठौर र पश्चिम नवलपरासीका देवेन्द्रराज कंडेल सहमहामन्त्रीका दावेदार हुन् । पाल्पाका हरिप्रसाद नेपालको केन्द्रीय सदस्यमा आकांक्षा छ ।
त्यस्तैगरी केन्द्रीय सदस्यमा आकांक्षा राख्ने नेताहरु पनि धेरै छन् । केन्द्रीय सदस्य आदिवासी जनजाती कोटाबाट पाल्पाका वीरबहादुर रानाले उम्मेदवारी घोषणा गर्नुभएको छ भने रुपन्देहीका अब्दुल रज्जाकले केन्द्रीय सदस्यमै मुस्लिम कोटाबाट दावेदावी प्रस्तुत गर्नुभएको छ । रुपन्देहीका रज्जाक सभापति देउवा र पाल्पाका राना देउवा ईतर समुहका हुन् ।
त्यस्तै केन्द्रीय सदस्यमा रोल्पाका मनोजमणी आचार्य, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, प्युठानका गोबिन्द्रराज पोखरेल, कपिलवस्तुका वीरेन्द्र कनोडिया, दाङका डिल्लीबहादुर चौधरी, बाँकेकी किरण कोइराला, गजेन्द्र हमाल, आशा विक, बर्दियाका सञ्जय गौतम, गुल्मीबाट चन्द्र केसी केन्द्रीय सदस्यका आकांक्षी हुन् ।
नेपाली काँग्रेसको महाधिवेशनबाट सभापति, २ उप–सभापति, २ महामन्त्री तथा खस/आर्य, जनजाती, महिला, मधेसी, मुस्लिम, थारु, दलित र पिछडिएको क्षेत्रबाट एक÷एक जना गरि ८ सहमहामन्त्री चयन गर्नेछ । त्यस्तै केन्द्रीय सदस्य तर्फ खुल्लाबाट ३५, प्रदेशबाट ७ महिला सहित २१, खुल्ला महिला ९, खस/आर्यतर्फ ६ महिला सहित १३, आदिवासी जनजाती तर्फ ७ महिला सहित १५, मधेसी ४ महिला सहित ९, दलित ४ महिला सहित ९, थारु २ महिला सहित ४, मुस्लिम १ महिला सहित ३, पिछडिएको क्षेत्रबाट १, अल्पसंख्यक बाट १ र अपाङ्गता भएकाबाट १ जना गरि पदाधिकारी सहित १३४ जनाको केन्द्रीय कार्यसमिति निर्वाचित हुनेछ ।