नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत सम्पन्न मतदानमा पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको मत गणनाको तयारी गरिएको छ । पार्टी सभापति पदको मतगणना सम्पन्न भएसंगै पदाधिकारी र सदस्यहरुको गणनाको तयारी गरिएको हो ।
आज (बुधबार) देखि पदाधिकारी र केन्द्रीय सदस्यहरुको गणना सुरु गर्ने र पुसको ५ गते सम्म पूर्ण परिणाम आउने निर्वाचन समितिले जनाएको छ । मतदान सकिएपछि मतपेटिका पार्टी कार्यालय सानेपामा राखिएको छ ।
आज अपरान्हदेखि मतगणना सुरु गर्ने र सुरुमा पदाधिकारीको गणना गर्ने तयारी छ । सभापति पदमा भने पुनः शेरबहादुर देउवा निर्वाचित भईसक्नु भएको छ ।
यहि मंसिर २४ गतेदेखि सुरु भएको महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनको लागि २७ गते निर्वाचिन भएको थियो । सभापति पदमा ५ प्रतिस्पर्धी कसैले पनि बहुमत (५१ प्रतिशत) मत प्राप्त नगरेपछि बढी मत ल्याउने दुईजना देउवा र डा. शेखर कोईराला बिच पुनः मतदान भएको थियो । जसमा ९०७ मतान्तरले सभापतिमा देउवा निर्वाचित हुनु भएको हो । बाँकी पदमा भने बढी मतका आधारमा निर्वाचित हुने व्यवस्था छ ।