व्यवसायीकै कमजोरीका कारण ढुवानीमा सरकारले तोकेको न्यूनतम भाडा कार्यान्वयन हुन नसकेको स्वयम व्यवसायीले औंल्याएका छन् ।
भारतीय गाडीको ओभरलोड नियन्त्रण र सरकारले तय गरेको ढुवानी भाडालाई व्यवहारमा लागु नगर्दासम्म ट्रक व्यवसायीको पेशा सुरक्षित नहुने पनि उनीहरुले बताए । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलमा नव निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यको पदस्थापन कार्यक्रममा बोल्दै सरकारले लागु गरेको न्यूनतम भाडा कार्यान्वयनमा स्वयम व्यबसायी नै प्रतिवद्ध हुनु पर्ने भनाई राखेका हुन् ।
कार्यक्रममा बोल्दै समितिका नवनिर्वाचित अध्यक्ष यमप्रसाद पाण्डेले व्यवसायिक एकता कायम गरेर व्यवसायिको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सरकारले तोकेको भाडा कार्यान्वयन गर्न र भारतीय ओभरलोड गाडिको आगमनलाई रोक्न अग्रजहरुको सल्लाह र व्यवसायीसंग सहकार्य गरेर अगाडी बढ्ने उहाँले बताउनु भयो ।
कार्यक्रमका नेपाल ट्रक यातायात व्यवासायी महासंघका निवर्तमान अध्यक्ष अर्जुन रानाभाटले विधानलाई मानेर काम गर्न आग्रह गर्दै राज्यले तोकेको भाडा कार्यान्वयन हुन नसक्नुमा आफूहरुकै कमजोरी भएको बताउनुभयो । व्यवसायीले पुरा भडा लिनको लागि मालसमानको अनिवार्य रुपमा विमाको व्यवस्था गनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले व्यवसायलाई अब नयां प्रविधिको प्रयोग गरेर अगाडी बढाउनु पर्ने बताउनुभयो । उहांले सरकारले तोकेको भाडा कार्यान्वयन गर्न व्यवसायिक संघसंस्थाहरु र स्वयम व्यवसायी सक्रिय हुनुपर्ने बताउंदै भारतीय ओभरलोड गाडि नियन्त्रणका लागि सबै मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा महासंघका केन्द्रिय सदस्य बिरेन्द्र यादव, लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद खरेल, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका पुर्व अध्यक्षहरु रामेश्वर श्रेष्ठ, गुप्तबहादुर केसी, गणेशप्रसाद पन्थ, निवर्तमान महासचिव जीतबहादुर भाट, पूर्व सचिव पंकज राई, निर्वाचन आयुक्त महेन्द्रप्रसाद पाण्डे, कार्यालय प्रमुख बाबुराम अधिकारी लगायतले बोल्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्नुभएको थियो ।