नेपाली काँग्रेस रुपन्देहीको पहिलो बैठक : राष्ट्रिय मेलमिलाप दिवस मनाउने निर्णय

1.3K

नेपाली काँग्रेस रुपन्देहीको पहिलो बैठक : राष्ट्रिय  मेलमिलाप दिवस मनाउने निर्णय

नेपाली काँग्रेस रुपन्देहीको पहिलो बैठकले बिभिन्न आठ निर्णय गरेको छ । पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमितिको पहिलो बैठकले निर्वाचन सम्पन्न गर्न सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गर्दै विभिन्न निर्णय गरेको हो ।
काँग्रेस रुपन्देहीका नवनिर्वाचित सभापति रामकृष्ण खाँणको सभापतित्वमा बसेको कार्यसमिति बैठकले पार्टीको केन्द्रीय समिति सदस्यमा निर्वाचित रुपन्देहीका नेताहरु गृहमन्त्री बालकृष्ण खाँण र अब्दुल रज्जाकलाई बधाई ज्ञापन गरिएको छ ।
बैठकले यहि पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने, पार्टीको आधिकारिक फेसबुक पेज सञ्चालन गरि सूचना सम्प्रेषण गर्ने निर्णय गरिएको हो । उक्त फेसबुक पेज आधिकारिक व्यक्तिबाट सञ्चालन गर्ने र सामाजिक सञ्जालमा पार्टी तथा नेताहरुलाई आँच आउनेगरी स्टाटस लेख्ने र टिकाटिप्पणी नगर्न समेत आग्रह गरिएको छ ।
बैठकलाई सम्बोधन गर्दै सभापति खाँणले आगामी स्थानीय, प्रदेश तथा संघीय निर्वाचनमा पार्टीका उम्मेद्वारलाई जिताउन पार्टीबाट खेल्नुपर्ने भूमिकामा सबै एक भएर लाग्न समेत आग्रह गर्नुभयो ।
बैठकमा बोल्दै नवनिर्वाचित केन्द्रिय सदस्य अब्दुल रज्जाकले पार्टीको महाधिवेशनमा आफूलाई जिताउनको लागि भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । काँग्रेस रुपन्देहीका निवर्तमान सभापति समेत रहेका नेता रज्जाकले कुरा भन्दा पनि काम गरेर अगाडि बढ्न जिल्ला नेतृत्वलाई आग्रह गर्नुभयो ।
बैठकमा उपसभापति डा. अनिता शाह, थानेश्वर घिमिरे, रुपन्देही क्षेत्र नं. १ का क्षेत्रीय सभापति तथा देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्री, क्षेत्र नं. ३ का सभापति सुशिल गुरुङ् लगायतले भनाई राख्नुभएको सचिव हरि काफ्लेले जानकारी गराउनु भयो ।