प्रदेशको आर्थिक केन्द्र बुटवल र पहाडी जिल्लाहरुको कनेक्टिभिटीमा नेतृ भुसालको जोड

1.3K

प्रदेशको आर्थिक केन्द्र बुटवल र पहाडी जिल्लाहरुको कनेक्टिभिटीमा नेतृ भुसालको जोड

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनीधि सभा सदस्य पुष्पा भुसालले लुम्बिनी प्रदेशको समग्र बिकासको लागि बुटवलसंग अरु जिल्लाहरुको कनेक्टिभिटीमा जोड दिनुभएको छ । बुटवलका उद्योगी व्यवसायीहरुसंग बुधबार साँझ भएको भेटघाट तथा छलफलमा नेतृ भुसालले आर्थिक बिकासका दृष्टिकोणले अरु प्रदेश भन्दा लुम्बिनी प्रदेशमा राम्रो सम्भावना भएकाले दीर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्ने बताउनु भएको हो ।
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले आयोजना गरेको भेटघाट कार्यक्रममा नेतृ भुसालले आर्थिक तथा पूर्वाधार बिकासमा अगाडि रहेको बुटवल र बाँकी जिल्लाहरुको पूर्वाधार तथा आर्थिक कनेक्टिभिटी कसरी बिस्तार गर्न सकिन्छ त्यसतर्फ सोच्नुपर्ने भनाई राख्नुभयो । प्रदेशको स्थायी राजधानी बुटवललाई कायम राख्न नसकिएपनि आर्थिक तथा पूर्वाधार बिकासको हिसावले बुटवल नै राजधानी रहेको बताउँदै प्रदेशको बिकास र समृद्धिको नेतृत्व पनि बुटवलले नै गर्नुपर्ने भनाई राख्नुभयो ।
१२ जिल्ला रहेको लुम्बिनी प्रदेशका बाँकी जिल्लाहरु पाल्पा, गुल्मी अर्घाखाँची, नवलपरासी, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, प्युठान र रुकुमलाई बुटवलसंग जोड्ने योजना बनाउन आवश्यक रहेको भन्दै विश्व पर्यटनको केन्द्र लुम्बिनी आउने पर्यटकलाई समग्र लुम्बिनी प्रदेशका जिल्लाहरुमा लैजानेगरी बिकासका योजना बनाउन सके पर्यटनका माध्यमबाट प्रदेशको अर्थतन्त्र बलियो बनाउन सकिने उहाँको भनाई छ ।
पहाडी उत्पादनलाई बजारीकरण गर्न र औद्योगिक उत्पादन ग्रामिण जिल्लाहरुमा पु¥याउने गरी बुटवलसंग पहाडी जिल्लाहरुको कनेक्टिभिटी बनाउनु पर्ने उहाँले बताउनु भयो । त्यस्तै सबै पहाडी जिल्लाहरुमा ऐतिहासिक तथा पर्यटकीय क्षेत्र भएको र त्यसको बिकास तथा यातायात पूर्वाधार बिकासमा उहाँले जोड दिनुभयो ।
कनेक्टिभिटीको लागि बुटवलले पहाडी जिल्ला र पहाडी जिल्लाले बुटवलको अपनत्व लिनुपर्ने उहाँको भनाई छ । त्यस अवसरमा उद्योगी व्यवसायीहरुले आर्थिक तथा निजी क्षेत्र धारासायी भएको बताउँदै सरकारलाई निजी क्षेत्रमैत्री हुन आग्रह गरेका थिए । त्यसको जवाफमा उहाँले अहिले सरकारको सामु धेरै चुनौती रहेको र चुनौको सामना गरेर सरकार अगाडि बढेको बताउनु भयो । उहाँले संसदीय प्रणालीलाई राजनीतिकरण गरिँदा संसद अवरुद्ध भएको र महत्वपूर्ण मुद्धाहरु पनि संसदमा उठान गर्न नपाईएको बताउनु भयो ।
अघिल्लो सरकारले करिव साढे ३ वर्ष सत्ता सञ्चालन गर्दा परिवर्तनलाई संस्थागत नगरेका कारण यो सरकारको सामु धेरै चुनौती रहेको बताउँदै उहाँले अव करिव १ वर्षको अवधिमा त्यसलाई सुधार गर्दै सरकार अगाडि बढ्ने बताउनु भयो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा भएको कार्यक्रममा अर्घाखाँची पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतम, संघका वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, महासचिव बिमलराज भट्टराई लगायतले भनाई राख्नुभएको थियो ।