नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । भर्चुअल माध्यमबाट अहिले (शुक्रबार) बस्दै गरेको बैठकमा कार्यसम्पादन समिति गठनको विषयमा छलफल हुनेछ । बैठकमा कार्यसम्पादन समिति गठन गर्ने एउटा मात्रै एजेण्डा तय भएपनि समसामयिक राजनीति, स्थानीय निर्वाचन र कोरोना महामारीको विषयमा पनि छलफल हुनसक्ने नेताहरुले बताएका छन् ।
नेपाली काँग्रेसको विधानमा ४५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठनको व्यवस्था छ । उक्त समितिमा पार्टीका १४ जना पदाधिकारी र सभापतिले प्रस्ताव गरेका थप ३१ जना सदस्य रहनेछन् । त्यस्तै पार्टी प्रवक्ता स्वतः सदस्य रहने व्यवस्था छ । यद्यपी पार्टी प्रवक्ता तोकिसकिएको छैन । त्यस्तै कोषाध्यक्ष पद पनि खाली छ ।
केन्द्रीय समिति बैठक बस्न नसकेको बेला केन्द्रीय समितिले गर्ने काम कार्यसम्पादन समितिले गर्ने र कार्यसम्पादन समितिले गरेका निर्णयहरु केन्द्रीय समिति बैठकले अनुमोदन गर्नुपर्ने विधानमा व्यवस्था छ ।
पार्टीका आन्तरिक र राष्ट्रिय महत्वका विषयमा तत्काल छलफल गर्नुपर्ने आवश्यकता भएपछि महत्वका साथ कार्यसम्पादन समिति गठन गर्ने प्रस्तावमा छलफल गर्न लागिएको हो ।