पश्चिम नेपालबाट पश्चिमी न्यूनचापीय प्रणाली प्रवेश गर्दै छ । जसका कारण उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात तथा पहाडी र तराईका भू–भागमा मेघगर्जन चट्याङ सहित असिना पानीको सम्भावना रहेको जल तथा मौषम विज्ञान विभाग मौषम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाववाट जोगिन महाशाखाले अनुरोध छ ।
नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखाविशेष बुलेटिन ८ः हिउँद यामको विशेष मौसम अपडेट (Special Winter Weather Bulletin-8)
(जारी मितिः २०७८/१०/१८ दिउँसो ४ः ३० बजे)
बुधबार राति देखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहिबार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बागमती प्रदेश, मधेश प्रदेश र प्रदेश नं १ मा आँशिक देखि सामान्य बदली रहने, शुक्रबार देशैभरी सामान्य देखि पूर्ण बदली रहने र शनिवार देशभरी आंशिक देखि सामान्य बदली रहने देखिन्छ ।
(भू-उपगह्रबाट प्राप्त हालको मौसमको अवस्था )
यस प्रणालीको प्रभावले बिहिबार सुदुर–पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ ।
शुक्रबार देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । देशका पहाडी तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन चट्याङ/असिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुको साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
शनिबार गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहनुको साथै उक्त प्रदेशका पहाडी तथा तराई भेगका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आइतबार देखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने देखिएको छ ।
यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाववाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।