मौषममा आईतबारदेखि क्रमिक रुपमा सुधार हुने जल तथा मौषम विज्ञान विभाग मौषम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । महाशाखाका अनुसार त्यसैको प्रभावका कारण भोली शनिबार बिहानसम्म देशभर सामान्य देखि पूर्ण बदली रहने छ ।
त्यस्तै देशका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी तथा लुम्बिनी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि उल्लेख गरिएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
त्यस्तैगरी शनिबार प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली हुने र बाँकी प्रदेशमा आंशिक वदली रहनेछ । प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका पूर्वी तथा मध्ये भूभागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना छ ।
आईतबार भने देशभर आंशिक बदली हुने र सामान्यतया मौषम सफा रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज (शुक्रबार) पश्चिम तराईका केही स्थानहरुमा हुस्सु तथा कुहिरो लागेको छ भने मध्यान्न पछि सुधार हुँदै जाने छ भने मध्ये र पूर्वी तराईमा हुस्सु कुहिरोको कुनै सम्भावना देखिएको छैन ।
पश्चिम तराईमा कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी–पश्चिम, नवलपरासी–पूर्व, मध्य तराईमा चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र पूर्व तराईमा सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापा जिल्ला पर्दछन् ।