लुम्बिनी प्रदेश सरकारले पाल्पा दरवार संग्रहालय विकास समिति गठन आदेश स्वीकृत गरेको छ । लुम्बिनी प्रदेश सरकारको सोमबार बसेको मन्त्रीपरिषद बैठकले कानून महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा पाल्पा दरबार संग्रहालय विकास समिति गठन आदेश, २०७८ स्वीकृति गर्ने निर्णय गरेको हो ।
मन्त्रीपरिषद बैठकले यो सहित प्रदेश योजना आयोग र प्रदेश प्रशिक्षण प्रतिष्ठानको अस्थायी संगठन संरचना र दरवन्दीहरु २०७९ साल असारसम्मको लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको हो । यस्तै आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको प्रस्तावमा सूचना तथा संचार प्रविधि प्रतिष्ठानमा विज्ञ सदस्य कमल बहादुर श्रीस थापालाई नियुक्त गर्ने निर्णय भएको छ ।
बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गत सूचना प्रविधि प्रतिष्ठानको अस्थायी दरबन्दीहरु २०७९ सालको असारसम्मको लागि स्वीकृत गर्ने, कानून महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७८ को अनुसूची हेरफेर स्वीकृत गर्ने निर्णय मन्त्रीपरिषद बैठकले गरेको छ ।
त्यस्तै कृषि खाद्य प्रविधि तथा भूमी व्यवस्थापन मन्त्रालय प्रस्तावमा स्मार्ट कृषि गाँउ कार्यक्रम सञ्चालन पहिलो संशोधन कार्यविधि, २०७८ स्वीकृत गर्ने र शिक्षा विज्ञान, युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा प्रदेश खेलकुद विकास ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरिएको मुख्ममन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले बताउनु भयो ।