सरकारले कच्चा दुधको मुल्य बढाएसंगै दुग्ध विकास संस्थान (डिडिसी) पनि दुधको मुल्य बढाउने निर्णय गरेको छ । सरकारले कच्चा दुधको मुल्य लिटरमा ६ रुपैयाँ ५२ पैसा बढाएको थियो । त्यो संगै डिडिसीले ९ रुपैयाँ प्रतिलिटर उपभोक्ता मुल्य बढाएको हो । डिडिसीले बृद्धि गरेको उपभोक्ता मुल्य शुक्रबारदेखि लागु हुनेछ ।
कच्चा दूधको मुल्यवृद्धिसँगै कृषि तथा पशुन्छी विकास मन्त्रालयले उपभोक्ता मुल्य निर्धारण गर्न सहमति दिएको थियो । ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफ (गुलियोपना)को आधारमा मुल्य समायोजन गर्न मन्त्रालयले सहमति दिएपछि डिडिसीले उपभोक्ता मुल्य बृद्धि गरेको हो ।
ढुवानी लगायत लागत खर्च पनि बढेकोले वैज्ञानिक आधारमा दुधको उपभोक्ता मुल्य पनि बृद्धि गरिएको डिडिसीका कार्ययोजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जिव झाले बताउनु भएको छ । दुधको उपभोक्ता मुल्य बृद्धिसंगै आधा लिटर दुधलाई ४२ रुपैंया पर्नेछ । यो काठमाण्डौं, बिराटनगर, हेटौंडा र जनकुपुर क्षेत्रमा लागु हुनेछ । त्यस्तै बुटवल भैरहवा क्षेत्रमा भने आधा लिटर दुधलाई ४० रुपैंया ५० पैसा पर्नेछ । नेपालगन्ज र धनगढी क्षेत्रमा भने आधा लिटरलाई ३९ रुपैयाँ ५० पैसा तोकिएको छ ।
मन्त्रीपरिषद बैठकले ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफको आधारमा किसानको मुल्य ५६ रुपैंया ४ पैसा तोकेको थियो । किसानसंग खरिद मुल्य बढेसंगै डेरी व्यवसायीले उपभोक्ता मुल्य बढाउन दवाव दिएका थिए । यद्यपी बुटवल भैरहवाका डेरी व्यवसायीले भने उपभोक्ता मुल्य १० रुपैंया बृद्धि गरिसकेका छन् । दुधको खुद्रा मुल्य बढेसंगै दही, पनिर, घ्यू लगायतका दुधबाट बन्ने खाद्य बस्तुको पनि मुल्य बृद्धि हुने निश्चित छ ।