अपाङ्गता भएका व्यक्तिलाई सहजै रोजगारी दिन रोजगारदाताहरु संकोच मान्छन् । सवलाङ्गले जस्तै उनीहरुले काम दिन सक्दैनन् भने रोजगारदाताको मानसिकता छ ।
कामको प्रकृति र कार्यक्षत्रमा अपाङ्गमैत्री वातावरण छ भने उनीहरु पनि सवलाङ्गले जस्तै काम गर्न सक्छन् । अपाङ्गता भएका व्यक्तिलाई पनि रोजगारीको अवसर दिने हो भने उनीहरुको जिविकोपार्जनमा सहज मात्रै होईन, सवलाङ्गले भन्दा राम्रो काम गर्न सक्ने फाउण्ड परियोजना बुटवल क्लष्टरका म्यानेजर रामदयाल यादव बताउनु हुन्छ ।
फाउण्ड परियोजनाले नेपालमा अपाङ्गता भएका युवाहरुलाई उपयुक्त रोजगारीको अवसर खोजी गरि त्यसमा समावेश हुन मद्धत गर्दै आएको छ । फाउण्ड परियोजना द लेप्रोसि मिसन नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय अपाङ्ग महासंघको साझा परियोजना हो । यसले रोजगार बिहिन अपाङ्गता भएका व्यक्तिलाई उद्योग प्रतिष्ठानमा नियुक्त गर्नको लागि रोजगारदातालाई विश्वस्त बनाउने र अपाङ्गता समुदायबाट कुशल कर्मचारी छनौट गर्न समेत सहयोग गर्दै आएको उहाँले बताउनु भयो ।
परियोजनाले रोजगारबिहन अपांगता भएका व्यक्तिलाई रोजगारीको पहुँच स्थापित कसरी गर्न सकिन्छ भन्ने विषयमा बुटवलमा पत्रकारहरुसंग अन्तरक्रिया गरेको थियो । नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा भएको कार्यक्रममा फाउण्ड परियोजना बुटवलका म्यानेजर यादवले अपाङ्गता भएका व्यक्तिहरुको अवसर र प्रोत्साहनका लागि सञ्चार क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो ।
देशका पाँचवटा औद्योगिक क्षेत्र रहेका शहरहरु काठमाण्डौ, ललितपुर, विराटनगर रुपन्देही र कपिलबस्तुमा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान, वर्गिकरण, प्रशिक्षण र व्यवस्थापन गर्दै आएको छ ।
त्यस अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले कमजोर वर्गमा रहेका व्यक्तिको पक्षमा आवाज आवाज उठाउने काम पत्रकारहरुले गर्दै आएको बताउनु भयो । त्यस्तै परियोजनाका राष्ट्रिय निर्देशक शोभाखर कंडेलले परियोजनाले हालसम्म १० हजार भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरुलाई अवसर तथा रोजगार व्यवस्थापन गरेको जानकारी गराउनु भयो ।
परियोजनाका व्यवसाय वित्त अधिकारी ढाकाराम अधिकारीले अपाङ्गताप्रति सकारात्मक सोँचको विकास, औपचारिक तथा स्वरोजगार जस्ता विषयमा परियोजना केन्द्रित रहेको बताउँदै अपाङ्गता साझा सवाल हुनाले सञ्चारकर्मीहरु र परियोजनाको सहकार्यमा जोड दिनुभयो ।
कार्यक्रम परियोजनाकी रोजगार परामर्शदाता राधा भट्टराईको सञ्चालनमा भएको थियो । उहाँका अनुसार फाउण्ड परियोजनाले रुपन्देहीमा अपाङ्गता भएका हजार बढीको पहिचान भएको र त्यसमध्ये ६ सय बढीलाई रोजगारीको व्यवस्था गरेको छ ।