अन्ततः संसदमा पेश भयो एमसिसि

1.3K

अन्ततः संसदमा पेश भयो एमसिसि

सत्ता साझेदार दलहरुमा लामो रस्साकसीपछि अन्ततः एमसिसि प्रतिनीधि सभा (संसद)मा पेश भएको छ । सत्ता साझेदार दलहरु बिचमा सहमति जुटेपछि संसदमा एमसिसि टेबुल भएको हो ।
विपक्षी दलको निरन्तरको अवरोध र सत्ता साझेदार दलहरुकै सांसदहरूको विरोधका बीच प्रतिनिधि सभाको आइतबारको बैठकमा सरकारले एमसीसी सम्झौता टेबल गरेको हो ।
प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका बिच सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोगमा आधारित एमसिसि परियोजना संसदमा पेश गर्नुभयो । सञ्चारमन्त्री कार्कीले नै २०७४ भदौ २९ गते अर्थमन्त्रीका रूपमा नेपालको तर्फबाट उक्त सम्झौतमा हस्ताक्षर गर्नुभएको थियो ।
प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता भएको सन्धि वा सम्झौतालाई सम्बन्धित मन्त्रीले प्रस्तुत गर्नुपर्ने प्रतिनिधि सभा नियमावली, २०७५ को व्यवस्था अनुसार मन्त्री कार्कीले प्रतिनिधि सभा बैठकमा उक्त परियोजना टेबुल गर्नुभएको हो । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले एमसीसी संसद्मा दर्ता गराएकाले हाल अर्थमन्त्री जनार्दन शर्माले सरकारको तर्फबाट सभामा प्रस्तुत गर्नुपर्ने थियो । आईतबार बसेको प्रतिनीधि सभा बैठकमा अर्थमन्त्री शर्मा उपस्थित नभएकाले सञ्चारमन्त्री कार्कीले पेश गर्नुभएको हो ।
एमसिसि परियोजना संसदमा पेश गर्ने सहमतिपछि सत्ता साझेदार दल माओवादी केन्द्र र नेकपा एसका कार्यकर्ताले भने सडकमा बिरोध गरिरहेका छन् ।
एमसिसि परियोजना संसदमा टेबुल भएपछि नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अव संसदबाट पास हुने प्रतिक्रिया दिनुभएको छ ।