स्थानीय तहको निर्वाचन : हुम्लाको एउटा गाउँमा चुनाव अगावै छानिए जनप्रतिनीधि

1.3K

स्थानीय तहको निर्वाचन : हुम्लाको एउटा गाउँमा चुनाव अगावै छानिए जनप्रतिनीधि

हुम्लाको एउटा गाउँपालिकाको एउटा वडामा चुनाव अगाडि नै जनप्रतिनीधि छानिएको छ । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेको छ । तर हुम्लाको नाम्खा गाउँपालिकाको वडा नं. ६ लिमिमा गाउँभेला गरी वडा अध्यक्ष र सदस्यहरु (जनप्रतिनीधि) छानिएको हो ।
करिव १५० घरधुरी रहेको लिमिमा जाङ, हल्जी र तिल तीनवटा गाउँछन् । गाउँ भेलाले वडा अध्यक्षमा पाल्जोर तामाङलाई दोहोर्याएको छ । पाल्जोरलाई गत स्थानीय तहको निर्वाचनमा पनि यसैगरी वडा अध्यक्ष चयन गरिएको थियो ।
त्यस्तै वडा सदस्यहरुमा हल्जीका छिरिङटुङडुप तामाङ, जाङका पुटी तामाङ् र तिलबाट टुङडुप लामालाई चयन गरिएको बताईएको छ । वडा सदस्यहरु भने नयाँ अनुहार हुन् । अब लिमिका जनता गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई मात्रै मतदान गर्नेछन् । स्थानीय जनप्रतिनीधि चयनको लागि भएको गाउँभेलामा सबै घरपरिवारबाट एक एक जना प्रतिनीधि बोलाईएको थियो ।
लिमिका स्थानीयले जनप्रतिनीधि चयनको लागि मात्रै नभएर गाउँको अन्य महत्वपूर्ण विषयमा पनि यस्तै गाउँभेला गरेर निर्णय लिने गर्दछन् । उनीहरुले हरेक वर्ष कात्तिक अन्तिम वा मंसिरको सुरुमा बैठक बसेर योजना बनाउने र कार्यान्वयन गरिने योजनाको बाँडफाड गर्ने बताईन्छ । लिमिमा भारी हिमपात भएकाले यो वर्ष मतदाता नामावली संकलन समेत हुन सकेन । निर्वाचन कार्यालयले मंसिर १७ देखि पुस ९ गतेसम्म मतदाता नामावली संकलनको कार्यतालिका बनाएको थियो । जिल्ला निर्वाचन कार्यालय हुम्लाका अनुसार त्यस समयमा भारी हिमपातका कारण मतदाता अध्यावधिक गर्न नसकिएको हो ।