रोटरी क्लव अफ बुटवल साउथमा नयाँ कार्यसमितिलाई पद हस्तान्त्रण गरिएको छ । सोमबार साँझ क्लवको स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा क्लवका नवनिर्वाचित अध्यक्ष टंकनाथ अधिकारी नेतृत्वको कार्यसमितिलाई पद हस्तान्त्रण गरिएको हो ।
त्यस अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरपालिकालाई नमुना नगरपालिका बनाईने बताउनु भयो । उहाँले त्यसमा रोटरीको पनि साथ सहयोगको आवश्यकता औंल्याउनु भयो ।
नगरप्रमुख खाँणले तिलोत्तमामा लगानी आकर्षित गरेर रोजगारी सिर्जना गर्ने, गरिवी घटाउने तथा शिक्षा र स्वास्थ्यको स्तर बृद्धि गर्ने गरी कामको थालनी गरिएको जानकारी गराउनु भयो । त्यस्तै उहाँले पुराना राम्रा कामलाई निरन्तरता दिने पनि प्रचिवद्धता व्यक्त गर्नुभयो ।

पद हस्तान्त्रण कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष ध्रुव धितालले आफ्नो कार्यकालमा क्लवले रोटरी ईन्फरमेशन सेन्टर, देवदहको केउलीमा रोटरी खानेपानी आयोजना, बुटवल ११ देवीनगर (स्रोहछत्तिस नहर कीनार)मा रोटरी पार्कको काम निर्माणाधित अवस्थामा रहेको जानकारी गराउनु भयो । उहाँले त्यसबाहेक पनि क्लवले शिक्षा, स्वास्थ्य तथा समाज सेवाका धेरै काम गरेको जानकारी गराउनु भएको थियो ।

क्लवमा अध्यक्षको पदभार ग्रहण गर्दै रोटरी वर्ष २०२२/०२३ का अध्यक्ष टंकनाथ अधिकारीले रोटरीका सातवटा कार्यक्षेत्र भित्र रहेर काम गर्ने जानकारी गराउनु भयो । उहाँले यो वर्ष क्लवले सफा चर्पी अभियान सञ्चालन गर्ने जानकारी गराउनु भयो । त्यस्तै आरसिसि केउली र छपियामा महिलाका लागि सीप कार्यक्रम सञ्चालन गरिने जानकारी गराउनु भयो । क्लवले सञ्चालन गरेको पुराना कार्यक्रमलाई निरन्तरता दिने र सम्पन्नताको चरमा रहेका रोटरी ईन्फरमेशन सेन्टर, रोटरी पार्क र रोटरी खानेपानी आयोजनालाई पूर्णता दिने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।

रोटरी क्लव अफ बुटवल साउथले तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाँणलाई क्लवको मानार्थ सदस्यता प्रदान गरेको छ । क्लवको सोमबार आयोजना गरिएको २२ औं स्थापना दिवस तथा पदस्थापन समारोहमा नगरप्रमुख खाँणलाई क्लवको मानार्थ सदस्यता प्रदान गरिएको हो ।
त्यस अवसरमा बोल्दै खाँणले सामाजिक सेवामा कृयाशिल क्लवले मानार्थ सदस्यता प्रदान गरेर आफूलाई ठूलो सम्मान गरेको बताउनु भयो । आफूलाई प्रदान गरिएको यो सम्मानले समाज सेवामा लाग्ने प्रेरणा र हौसला मिलेको बताउँदै उहाँले क्लवको नियमित बैठक तथा कार्यक्रमहरुमा सहभागि हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा रोटरीका नोमिनी डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजु, एसिष्टेन्ट गभर्नर कृष्ण पाण्डे, सञ्जिवराज रेग्मी, क्लवका संस्थापक अध्यक्ष रामचन्द्र आचार्य लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम प्रेसिडेन्ट ईलेक्ट अर्जुनप्रसाद सापकोटाको स्वागत तथा सचिव ज्ञानेन्द्र गिरी र निवर्तमान सचिव निशानबाबु कार्कीको सञ्चालनमा भएको थियो ।