रुपन्देही उद्योग संघले स्थापना गरेको रोजगार सूचना केन्द्रको विहिवार एक कार्यक्रमकावीच शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेश सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा स्थापित केन्द्रको संघको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री शाहीले स्वदेशमा रोजगारी सिर्जना गर्दै दक्ष जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्ने वातावरण बनाउन सरकारको नीति रहेको बताउनु भयो । उहाँले नीजी क्षेत्रसँगको सहकार्य र सहयोगमा उद्योगको विकासका कार्यक्रमलाई अगाडी बढाएको उल्लेख गर्दै उद्योग संघले सञ्चालनमा ल्याएको रोजगार सूचना केन्द्रले श्रम शक्तिलाई आवश्यकता अनुसार काममा लगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा संघका अध्यक्ष माधवप्रसाद पौडेलले देशको श्रम शक्तिको समुचित परिचालनको व्यवस्थापन गर्नका लागि संघले पुलको रुपमा कामको सुरुवात गरेको बताउनु भयो । उहाँले शिपयुक्त जनशक्ति उत्पादन, व्यवस्थापन र निरन्तरताका लागि प्रदेश सरकार एवं बुटवल उपमहानगरपालिकाको सहयोगमा केन्द्रले काम गर्ने बताउँदै सीपयुक्त जनशक्तिको तथ्यांक संकलनका साथै उद्योगीहरुको आवश्यकता पहिचान गरी व्यवस्थापन गर्ने भूमिका निवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
त्यस्तै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले श्रम शक्तिको सम्मान र उनीहरुको उचित परिचालनका गर्दै स्थानीय तहमा रोजगारीको सिर्जना गर्ने कुरामा ध्यान दिन आग्रह गर्नु भयो । नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष तथा संघका अध्यक्ष परिषदका संयोजक एजाज आलमले रोजगार सूचना केन्द्रको स्थापनाको लक्ष्य पहिलेदेखि नै लिएको र ढिलै भएपनि सुरुवात भएकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष तेज कुमार पाठक, प्रदेश लेखा नियन्त्रक कार्यालय, लुम्बिनी प्रदेशका कार्यालय प्रमुख श्री दिपक ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय लुम्बिनी प्रदेशका उपसचिव श्री विजय कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटाको स्वागत, द्वितीय उपाध्यक्ष जिवकान्त काफ्लेको धन्यवाद ज्ञापन तथा महासचिव हरीबहादुर खत्रीको सञ्चालनमा कार्यक्रम भएको थियो ।