नेपाली काँग्रेसले आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर रुपन्देहीमा ‘जनताको साथमा काँग्रेस’ अभियान सुरु गरेको छ । अभियानको शनिबार काँग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले शुभारम्भ गर्नुभयो ।
यहि भदौको २४ गतेसम्म सञ्चालन गरिने यो अभियानको लागि पार्टीको केन्द्रीय समितिले रुपन्देहीमा केन्द्रीय सदस्य योगेन्द्र चौधरीलाई प्रतिनीधि खटाएको छ । अभियान अन्तरगत संघीय तथा प्रदेश निर्वाचन क्षेत्रमा कार्यक्रम गरिने काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले जानकारी गराउनु भयो ।
अभियानमा काँग्रेसले खटाएका प्रतिनीधिहरुले जनता समस्या गुनासाहरु सुन्नेछन् र सुझावहरु लिनेछन् । यो अभियानको लागि केन्द्रले जिल्ला जिल्लामा प्रतिनीधि खटाएको छ भने प्रदेश समितिले लुम्बिनीका सबै प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनीधि खटाएको छ । त्यस्तै जिल्ला समितिले पनि क्षेत्रीय समिति र प्रदेश समितिलाई प्रतिनीधि खटाउन निर्देशन गरेको छ ।
ती प्रतिनीधिहरुले काँग्रेसको नेतृत्वमा भएका राजनीतिक, आर्थिक तथा सामाजिक उपलब्धिहरुको बारेमा जनतालाई जानकारी गराउने छन् । त्यस्तै गठबन्धन गर्नुको कारण, नागरिकता ऐन, एमसिसि लगायतका विषयमा भएका भ्रमहरुलाई चिरफार गर्नेछन् । भदौको २४ गते विपि जयन्तीको दिन यो अभियानको समापन गरिने छ ।