स्वर्गीय वी.पी. कोईराला, स्वर्गीय पुष्पलाल श्रेष्ठ र स्वर्गीय सुर्यप्रसाद प्रधानको स्मृतिमा बुटवलको देवीनगरमा पार्क बन्ने भएको छ । सहमति, सहकार्य, एकता र मेलमिलापको नीति अंगिकार गर्दै बुटवलको विकासमा केन्द्रित हुने योजनाका साथ बुटवल उपमहानगरपालिकाले बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा नेपाली काँग्रेसका संस्थापक स्व. वी.पी. कोइराला, कम्युनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलाल र बुटवलका पूर्व नगर प्रमुख स्व. सूर्यप्रसाद प्रधानको स्मृतिमा पार्क निर्माण गर्न लागिएको हो ।
स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित भएर पदस्थापन गरेको १ सय दिन पूरा भएको अवसरमा शुक्रबार एक कार्यक्रमका बीच नगर प्रमुख खेलराज पाण्डेयले पार्कको शिलान्याश गर्नुभयो । १७ कठ्ठा १४ धुरमा बन्ने पार्कलाई सौन्दर्यीकरण गरी घुम्न र विश्राम गर्न लायक बनाइने नगर प्रमुख पाण्डेयले बताउनुभयो ।
उहाँले बुटवललाई बुटवलबासी र सबै राजनीतिक दलको अपनत्व हुने गरी पहिचान स्थापित गर्न आवश्यक रहेकाले सहमति, सहकार्य, एकता र मेलमिलापको नीति लिएर अघि बढ्ने बताउनु भयो ।
‘यो पार्कमार्फत बुटवल सबैको हो र हामी बुटवलका लागि हौं भन्ने भावना जागृत गराउनका लागि पनि यो पार्कले देशभर सन्देश दिनेछ, उहाँले भन्नुभयो–‘यहाँको विकासका निम्ति हामी सबै मिलेर अघि बढ्नु आवश्यक छ, यसले बुटवललाई देशकै उत्कृष्ट नगरको रुपमा स्थापित गर्न मदत गर्नेछ ।’
त्यस अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले विपद्का समयमा हुनसक्ने जोखिमका लागि समेत उपयोगी हुने गरी र्पाक निर्माण गरिने भएकाले स्थानीयलाई लाभ पुग्ने बताउनुभयो ।
त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले बुटवलबाट सहमति र सहकार्यको शुरुवात भएको र यसले देशभर सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गर्नुभयो । हालै बसेको कार्यपालिका बैठकले पार्क तीन नेताको स्मृतिमा पार्क निर्माण गर्ने निर्णय गरेको थियो भने त्यसको लागि नगरपालिकाले ५० लाख रुपैंया बजेट विनियोजन भएको शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले जानकारी गराउनु भयो ।