‘कानुन नबन्दा संविधानले दिएको अधिकारबाट वञ्चित’

1.3K

‘कानुन नबन्दा संविधानले दिएको अधिकारबाट वञ्चित’

उच्च अदालत पोखराका मुख्य न्यायाधिश डिल्लीराज आचार्यले नागरिकलाई संविधानले प्रदत्त गरेका अधिकारहरुका विषयमा पनि कानुन नबनाईँदा अधिकारबाट वञ्चित हुनु परेको बताउनु भएको छ । मानवअधिकारका बारेमा संविधानमा धेरै कुरा उल्लेख भएपनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताउनु भयो ।
नेपालको संविधानको धारा २६ र ३७ लगायत अन्य धारामा मानवअधिकार सम्बन्धि धेरै विषय समावेश भएपनि कानुन नबन्दा संवैधानिक व्यवस्था कार्यान्वयन हुन नसकेको बताउनु भएको हो । उहाँले संविधानमा व्यवस्था गरिएका विषयवस्तुलाई कार्यान्वयनमा ल्याउनको लागि कानुन निर्माणलाई प्राथमिकता दिनुपर्ने भनाई राख्नुभयो ।
एम्नेष्टी इन्टरनेशनल नेपालले पोखरामा आयोजना गरेको विषयगत समितिहरुको रणनितिक योजना तर्जुमा सम्बन्धि कार्यशालाको उदघाटन गर्दै न्यायाधिश आचार्यले आफुले गर्न सकिने योजना मात्र बताउन बनाउन पनि आग्रह गर्नुभयो । कुनै पनि योजना कागज र कल्पनाको विषय मात्र नबनोस व्यवहारिक बन्न सकोस भन्दै उहाँले मानवअधिकारको संरक्षण र प्रवद्र्धनको लागि तहगत रुपमा सरकारले अनुगमन समिति बनाए कार्यान्वयनको पाटो प्रभावकारी हुन नसकेको बताउनु भयो ।
विधिको शासन र मानवअधिकारको संस्कृतिमा सुधार आएको चर्चा गरिए पनि भ्रष्टचार नियन्त्रण गर्ने संयन्त्र भित्रै भ्रष्टाचारको कुरा चल्नु दुर्भाग्यपूर्ण रहेको उहाँको भनाई छ ।
एम्नेष्टी ईन्टरनेशनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले मानव अधिकार र एम्नेष्टीको अभियानको सवल र कमजोर पक्षको गहन समिक्षा गर्दै आगामी वर्षकालागि योजना बनाउन कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
विश्वमा १ करोड र नेपालमा ८ हजार अभियन्ता एम्नेष्टीसंग आबद्ध रहेको जानकारी दिदै अध्यक्ष बुढाथोकीले विषयगत समितिमा रहेका सदस्यहरुले समेत एम्नेष्टी र मानवअधिकारको विषयमा नेतृत्वदायी भूमिका खेल्न सक्नु पर्नेमा जोड दिनुभयो ।
एम्नेष्टि नेपालका पूर्व अध्यक्ष सूर्यबहादुर अधिकारीले विश्वका ६५ मुलुकमा एम्नेष्टीको शाखा रहेको र नेपाल शाखाले दक्षिण एशियाका अन्य मुलुकहरुको समेत नेतृत्व गर्नुपर्ने दायित्व रहेको जानकारी गराउनु भयो । एम्नेष्टीमा आबद्ध अभियन्ताले मानवअधिकारको अभियानलाई सक्रियतापूर्वक निरन्तरता दिन उहाँले आग्रह गर्नुभयो ।
अर्का पूर्व अध्यक्ष राजन कुईँकेलले एम्नेष्टीले सधै शान्ति र मानवअधिकारको पक्षमा वकालत गर्दै पञ्चायति शासनकाल र त्यसयता शसस्त्र द्धन्द्धका क्रममा माओवादी र राज्य पक्षबाट भएका मानवअधिकार उल्लंघनका घटनामा शसक्त आवाज उठाउदै आएको स्पष्ट पार्नुभयो । आगामी दिनमा एम्नेष्टीले अन्तर्राष्ट्रिय स्तरमा नेतृत्व लिन सक्नु पर्ने कुईकेलको भनाई थियो ।
कार्यक्रममा एम्नेष्टी ईन्टरनेशनल नेपालका रणनीति तर्जुमा समितिकी संयोजक पार्वता आचार्यले गठित समितिहरुले प्रभावकारी काम गर्ने बताउनु भयो ।
एम्नेष्टि ईन्टरनेशनल नेपालका निर्देशक निराजन थपालियाले मानव अधिकारको सवाल विश्वव्यापी रुपमा परिवर्तन भईरहेको कुराको चर्चा गर्दै पछिल्लो समयमा जलवायु परिवर्तन, सामाजिक संजाल, आदिबासी जनजाति, अल्पसंख्याक लगायतका क्षेत्रमा मानवअधिकारको प्रवद्र्धनको काम गरिरहेको जानकारी गराउनु भयो । कार्यक्रममा एम्नेष्टी नेपालका कोषाध्यक्ष रोशन बजगाँई, महासचिव सञ्चिता कुईकेल लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो ।
कार्यशालामा एम्नेष्टी ईन्टरनेशनल नेपाल अन्तर्गत गठित मानवअधिकार अभियान समिति, आम सञ्चार र मानवअधिकार समिति, युथ पावर एक्सन सञ्जाल, संस्थागत विकास र सदस्यता परिचालन समिति, अन्तर्राष्ट्रिय मानवअधिकार विषय समिति तथा नीति रणनीति र योजना तर्जुमा सल्लाह समितिका संयोजक र सदस्द साथै बोर्डका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

युनियन महासचिव पौडेल र सदस्य यादवलाई सम्मान

एम्नेष्टि इन्टरनेशनल नेपालले आमसञ्चार र मानवअधिकार समितिका संयोजक दिलिप पौडेल र सदस्य मिथिलेश यादवलाई सम्मान गरेको छ । एम्नेष्टि नेपालले पोखरामा आयोजित उक्त कार्यक्रममा संयोजक पौडेल नेपाल प्रेस युनियनको महासचिव र सदस्य यादव केन्द्रीय सदस्यमा निर्वाचित भएकोमा सम्मान गरेको हो । उहाँहरुलाई उच्च अदालत पोखराका मुख्य न्यायधिश आचार्यले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।