सरकारको गलत नीतिका कारण मुलुकको अर्थतन्त्र विग्रियो : एमाले उपाध्यक्ष पौडेल

1.3K

सरकारको गलत नीतिका कारण  मुलुकको अर्थतन्त्र विग्रियो : एमाले उपाध्यक्ष पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकारको गलत नीति र असक्षमताका कारण मुलुकको अर्थतन्त्र धरासाही हुँदै गएको आरोप लगाउनु भएको छ । उहाँले मुलुकमा देखिएको आर्थिक संकटलाई नियन्त्रण गर्ने र नीजि क्षेत्रका समस्या समाधान गर्ने सोंच वर्तमान सरकारसंग नभएको पनि बताउनु भयो ।
रुपन्देही व्यापार संघको २१ औं वार्षिक साधारण सभाको शनिबार बुटवलमा उद्घाटन गर्दै पूर्व अर्थमन्त्री समेत रहनु भएका उपाध्यक्ष पौडेलले राष्ट्रलाई सहि नेतृत्व दिन सक्ने शक्ति पहिचान गरेर आगामी निर्वाचनमा मतदान गर्न समेत आग्रह गर्नुभयो । उहाँले आफूले अर्थमन्त्रालय सम्हाल्दा नाकाबन्दी, भूकम्प तथा कोरोना महामारीको असहज परिस्थितीका वावजुध पनि मुलुकको अर्थतन्त्रलाई विग्रिन नदिएको बताउँदै अहिले सबैकुरा राम्रो हुँदा पनि अर्थतन्त्र विग्रिँदै जानुको कारण के हो भनी प्रश्न गर्नुभयो । बुटवलको विकास कसैले रोकेर नरोकिने बताउँदै यहाँ अगाडि सारिएका योजनाहरु पुरा हुँदा सबैले वाह भन्ने बुटवल बन्ने उहाँको भनाई छ ।
त्यस अवसरमा संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले अहिले मुलुकको अर्थतन्त्र निकै सुस्त भएको, व्यापार व्यवसायमा मन्दी छाएको एवं तरलता अभावका कारण लगानी गर्न पैसाको अभाव बढेको अवस्थामा बैंकको चर्को व्याजले व्यवसायीहरु निकै प्रताडित हुनु परेको बताउनु भएको थियो । उहाँले प्रदेशको राजधानी बुटवलमा राख्ने निर्णयपछि संघका कार्यालय भवन प्रदेश सरकारलाई दिएको र प्रदेशको राजधानी सार्ने भएपछि चाडो संघलाई फिर्ता गर्न आग्रह गर्नुभयो ।
संघका महासचिव दयानिधी भण्डारीको सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारीको स्वागत एवं प्रथम उपाध्यक्ष प्रकाश ढकालको धन्यवादज्ञापनमा भएको उद्घाटन कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल, नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाल आलम, रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, संघका पूर्व अध्यक्ष शंकर भट्टराई, सल्लाहाकार जोगलाल विश्वकर्मा लगायत बोल्नु भएको थियो ।
सभाको दोस्रो सत्रमा भएको बन्दसत्रले महासचिव दयानिधी भण्डारीको बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष नामदेव पाण्डेको आर्थिक प्रतिवेदन छलफल पश्चायत सर्वसम्मत पारित गरिएको छ ।